Prakash Adhikari August 4, 2018

 

काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज साउन १९ गते शनिवार दिनको २ः०० बजे दलको कार्यालय सिंहदरबार बस्ने भएको छ ।

नेपाली कांग्रेसको संसदीय दलले दिएको जानकारी अनुसार परिवर्तित सन्दर्भमा संसदभित्र भएका गतिविधिका बारेमा समीक्षा गरी आगामी रणनीति तय गर्न सो बैठक बोलाइएको हो ।

नेपाली काँग्रेस संसदीय दलको आजको सचेतक रहनुभएकी सांसद पुष्पा भूषाल सहित सार्वजनिक सुनुवाईमा प्रतिनिधित्व गर्ने सभासद्हरुले प्रधानन्यायाधीशको संसदीय सुनुवाईको क्रममा भएका गतिविधिहरुमाथि प्रकाश पार्नुहुने बताइन्छ ।

संविधानको धारा २९२ मा संसदीय सुनुवाई सम्बन्धी व्यवस्था संघीय कानून अनुरुप हुने व्यवस्था छ तर संघीय कानूनको निर्माण बिनै संसदले बनाएको कार्याविधिको भरमा सार्वजनिक सुनुवाई गरि संसदीय समितिमा रहेका सत्तारुढ दलका दुईतिहाई सदस्यहरुले एकलौटी मताधिकार प्रयोग गरि प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको घोषणा गरेका थिए ।

नेपाली कांग्रेसले उजुरी र सञ्चारमाध्यममा प्रवाहित कुराको छानवीन गर्न उपसमिति बनाएर त्यसको सुझावका आधारमा निर्णयमा पुग्न प्रस्ताव गरेको थियो ।

तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुले नमानेको कारण नेपाली कांग्रेसले मतदान प्रकृया बहिष्कार गर्ने निर्णय गर्यो ।

कांग्रेसको बहिष्कारका बीच प्रधानन्यायाधीशको अनुमोदनका लागि निर्णयार्थ मतदानमा लगिदा नेकपाका ९ जना र सत्तारुढ संघीय समाजवादी फोरमका एकजना गरी १० जनाले प्रस्तावका विपक्षमा मतदान गरे । पक्षमा एक मत पनि भएन । १५ सदस्यीय समितिमा ज्येष्ठ सदस्यको रुपमा सभापतित्व गर्नुभएका लक्ष्मणलाल कर्णले पनि मतदान गर्नुभएन ।

समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरुले प्रधानन्यायाधीशको शैक्षिक योग्यता र कार्य सम्पादनका विषयहरु न्यायपरिषद्ले संवैधानिक परिषद्लाई सिफारीस गर्दा र संबैधानिक परिषद्ले सार्वजनिक सुनुवाई समितिसमक्ष अनुमोदनको लागि सिफारीस गर्दा नै हेरिसकेकोले ती विषयमा प्रवेश गर्नु अनावश्यक र असान्दर्भिक भएको पनि जनाएको छ ।

Share Now

Leave a comment.