जनकपुरधाम, ९ साउनः मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानैदेखि महोत्तरी र बाराको भ्रमणमा हुनुहुन्छ । उहाँले सो क्षेत्रको हवाई अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
मधेस प्रदेशका आठ जिल्लामा अहिले खानेपानी तथा सिँचाइको सङ्कट उत्पन्न भएको छ । यसबारे स्थलगत रुपमा जानकारी लिन उहाँ यहाँ आउनुभएको हो । उहाँले महोत्तरी र बाराका विभिन्न आयोजनाको उद्घाटनका साथै स्थानीयलाई सम्बोधन गर्ने क्रम जारी छ ।
मधेस प्रदेशमा यस वर्ष लामो समयदेखि आकासे पानी परेको छैन । नदी तथा खोला, नहर, पोखरीका साथै चापाकलमा पानी अभाव भएपछि मधेस प्रदेशलाई सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । मधेस प्रदेश सरकारले खानेपानी अभाव भएको क्षेत्रमा ट्याङ्कर र दमकलबाट स्थानीयलाई खानेपानी उपलब्ध गराइरहेको छ । जलसतह घटेपछि यहाँ सिँचाइ प्रणालीमा प्रभाव परेको छ । साउनको दोस्रो हप्ता सुरु भए पनि धान रोपाइँ ५० प्रतिशत पनि नभएको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९० प्रतिशत धानखेती रोपाइँ पूरा हुनुपर्नेमा अहिलेसम्म ४७ प्रतिशतमात्र धान रोपाइँ भएको छ । गत वर्ष सो अवधिमा ८० दशमलव ६ प्रतिशत धान रोपाइँ भएको थियो । मधेस प्रदेशमा पाँच लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धानखेती भइरहेको छ । नदी र नहरको पानी तथा बोरिङ एवं पम्पको सहयोगमा धान रोपाइँ भएको हो । धान रोपिएको खेतमा पानी अभाव भएको छ । धानका बेर्ना सुक्न थालेका सर्लाहीका किसान रामनरेश महतोले बताउनुभयो ।
सिँचाइ अभावले धान उत्पादनमा कमि आए त्यसको असर कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्ने मन्त्रालयलले जनाएको छ । चुरेक्षेत्रमा जथाभावी दोहनसँगै मधेसमा पानीको स्रोत कम हुँदै गएको वातावरण विद्हरुको भनाइ छ ।
सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि मधेसका किसानलाई के– कस्ता सुविधा दिनेबारे स्पष्ट हुन नसकिएको प्रा डा योगेन्द्र यादवले बताउनुभयो । ‘घोषणा गरेरमात्र हुँदैन आवश्यक मापदण्डका आधारमा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
मधेस प्रदेश सरकारले भने प्राथमिकताका आधारमा खानेपानी समस्या समाधान गर्न डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले राससलाई बताउनुभयो ।
तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने घोषणा गर्नुभएको छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथिको पुल र वडा नं ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेस प्रदेशमा तत्कालै ५०० वटा डिप बोरिङ जडान गरिने बताउनुभयो ।
हवाई उडानमार्फत यहाँ आउँदै गर्दा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै उहाँले मधेस प्रदेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार भएका पक्षसँग छलफल तथा समन्वय गरी यथाशक्य छिटो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्बोधनका क्रममा उहाँले मधेस प्रदेशको पूर्वी भागमा रहेको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँ कम समस्या रहेको चर्चा गर्दै बाँकी सातवटै जिल्लामा पानीको समस्या समाधान गर्नका लागि सरकार जुटिसकेको छ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेका सन्दर्भमा यस क्षेत्रका किसानसहित पानीको अभावका कारण प्रत्यक्ष रुपमा प्रभावित जनताका पक्षमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
यसैगरी, प्रधानमन्त्री ओलीले शिक्षाविना चेतना र विकास असम्भव हुने प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “जहाँ शिक्षा छ त्यहाँ चेतनासहितको विकास छ, जहाँ शिक्षा छैन त्यहाँ गरिबी र अभाव छ । आफ्ना छोराछोरीलाई भेदभाव नगरिकन विद्यालय पठाउन स्थानीय बासिन्दासमक्ष अनुरोध छ ।”
उहाँले गरिबी निवारणसहित परिवार, समाज र देश विकासमा शिक्षा आवश्यक रहेको उल्लेख गर्दै शिक्षालाई प्राथमिकता दिन पनि अनुरोध गर्नुभयो ।
–––


















