काठमाडौं, २० साउन । नेदरल्याण्ड्स विरुद्धको दोस्रो एक दिवसीय खेल जितेपछि नेपाली युवा स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न त्रिनिडाडतर्फ प्रस्थान गरेका छन्।
क्रिस गेलको कप्तानीमा रहेको सीपीएलको सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्समा आवद्ध सन्दिपलाई क्लबले ५ हजार डलरमा अनुबन्ध गराएको हो।
उनको टोलीमा इभिन लेविस, टम कूपर,ब्राण्डन किंग, समारह ब्रुक, इब्राहिम खालिल, जावेद ग्लेन,तब्रिज शाम्सी, सेल्डन कोट्टेल, ग्राहमी किपर, डेरेमी लुइस, अल्जारी जोसेफ,बेन कटिड., कार्लोस ब्राथवेट,महम्मुदउल्लाह,फेवियन एलेन र डेभन थमस रहेका छन् ।
यही बुधबार अगष्ट ८ देखि शुरु हुने क्यारेवियन प्रिमियर लिगमा सन्दीपको टोलीले दोस्रो दिन गुयना अमेजन वारियरसंग प्रतिस्पर्धा गर्नेछ । लिगमा ६ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
सीपीएलको फाइनल खेल सेप्टेम्बर १६ मा ब्रायन लारा इस्टेडियम, टारौवा त्रिनिडाडमा हुनेछ ।
आगामी भदौको पहिलो साता मलेसियामा हुने एसिया कप छनोटमा नेपालका तर्फबाट खेल्न सीपीएलका पाँच खेलपछि उनी जाने भएका छन्।
यसै सिजनमा आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दिपको अन्तर्राष्ट्रिय क्लब क्रिकेटमा व्यस्तता बढेको छ।
यसअघि क्यानेडियन लिग खेलेका उनले बिश्व ११ बाट समेत खेल्ने मौका पाएका थिए।
हालै सन्दिपले नेदरल्याण्ड्सविरुद्ध दुई खेलमा महत्वपूर्ण चार विकेटसमेत लिएका थिए।
पहिलो खेलमा ४२ रन खर्चिएर १ विकेट लिएका सन्दिपले दोस्रो खेलमा ४१ रन दिएर ३ विकेट लिएका थिए।


















