मस्को(रुस),१४ साउन ।रुसको क्याम्च्याट्का प्रायःद्वीपमा बुधवार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरको तटमा रहेका धेरै ठाउँमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (यूएसजीएस)का अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्च्याट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो। उक्त भूकम्प अहिलेसम्म अभिलेखमा भएकामध्ये छैटौँ भएको यूएसजीएसले जनाएको छ।
रुसी भौगर्भिक निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको हो।विगत १० दिनमा सोही क्षेत्रमा निरन्तर भुइँचालो गएको थियो। त्यहाँ जुलाई २० तारिखमा मात्रै पाँचवटा भूकम्प मापन गरिएको थियो।
समाचारसंस्थाहरूका अनुसार अहिलेसम्म जापान, संयुक्त राज्य अमेरिका, पेरू, एक्वडोर र चीनमा सुनामीको चेतावनी जारी गरिएको छ। फिलिपिन्स र इन्डोनेशियामा पनि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ। त्यहाँ समुद्रको छाल चार मिटर माथिसम्म पुग्ने अनुमान गरिएको छ।
सुनामीको लहर जापान पुग्यो
जापानको स्थानीय समाचारसंस्था एनएचकेका अनुसार जापानको होक्काइडो प्रान्तको उत्तरी क्षेत्रको तटीय सहर नेमुरोमा सुनामीको लहर बज्रिएको छ। सुनामी पहिलो लहरको उचाइ लगभग १२ इन्च रहेको बताइएको छ।
जापानी अधिकारीहरूले अब आउने लहरहरू अझ बढी उचाइको हुने बताएका छन्।
तटीय क्षेत्रमा एक दिनभन्दा बढी समयसम्म सुनामीको लहर आउने भन्दै जापानमा १९ लाख मानिसलाई सुरक्षित रहन अग्ला स्थानतिर जान भनिएको छ। तीमध्ये १०,५०० जनाजति होक्काइडोमा छन्।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडिओमा होक्काइडोमा मानिसहरू छतमा गएर बसेको देखिन्छ।
जापानको मौसम विभागले सुनामीको लहर तीन मिटरसम्म अग्लो हुन सक्ने अनुमान गरेको छ।
ट्रम्पको अनुरोध
यूएसजीएसका अनुसार आगामी तीन घण्टामा रुस र जापानका तटहरूमा खतरनाक सुनामीका लहरहरू पुग्न सक्छन्।
अमेरिकी अधिकारीहरूले अलास्का र हवाई क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरेका छन्।
यूएसजीएसले जोखिममा रहेका तटीय क्षेत्रका मानिसहरूलाई सतर्क रहन र स्थानीय प्रशासनका निर्देशनबमोजिम कदम चाल्न सुझावसमेत दिएको छ।
तर एक अमेरिकी भूकम्पविद्का अनुसार सुनामीले हवाई र क्यालिफोर्नियका बन्दरगाहमा क्षति पुग्न सक्ने भए पनि अमेरिकाका अन्य स्थानमा ठूलो विनाश नहुने बताउनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हवाईमा आउने सुनामीबारे जारी गरिएको चेतावनी र अलास्का तथा अमेरिकामा प्रशान्त महासागरको तटबारे दिइएको सुझाव सम्बन्धमा सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’ तथा ‘एक्स’मा पोस्ट गर्दै मानिसहरूलाई “दह्रो तथा सुरक्षित रहन” अनुरोध गर्नुभएको छ ।
अर्कोतर्फ जापानका क्याबिनेट सेक्रेटरीले देशको उत्तरी भागमा आएको सुनामीबाट अहिलेसम्म मानिसहरू हताहत भएकोबारे कुनै विवरण प्राप्त नभएको बताएका छन्।
त्यहाँ पहिलो सुनामी होक्काइडोमा आएको विवरणमा जनाइएको छ।
रुसमा कैयौँ मानिस घाइते
रुसमा गएको भूकम्पमा परी थुप्रै व्यक्तिहरू घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचारसंस्था तासले जनाएको छ।
झ्यालबाट हाम फालेकी एक महिलासहित सुरक्षित स्थानतिर जान लाग्दा केही व्यक्ति घाइते भएका छन्।
सो क्षेत्रका स्वास्थ्यमन्त्री ओलेग मेल्निकोभले घाइते सबै “सन्तोषजनक अवस्थामा रहेका” बताउनुभयो।
“गम्भीर घाइतेबारे अहिलेसम्म कुनै विवरण आएको छैन,” उ उहाँले भन्नुभयो ।
बुधवारको शक्तिशाली भूकम्पपछि रुसी अधिकारीहरूले “कम्तीमा आउने महिनामा ७.५ म्याग्निट्यूडसम्मको उल्लेखनीय परकम्पको अनुमान गरिएको” बताएका छन्।
क्याम्च्याट्कास्थित अन्तर्राष्ट्रिय विमानस्थल ठूलो भूकम्पछि पनि यथावत् सञ्चालनमा रहेको सो विमानस्थलले एउटा विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
उडानहरू पुरानो तालिकाअनुसार नै भइरहेका र विमानस्थलको धावनमार्ग “सन्तोषजनक अवस्था”मा भएको सो विमानस्थलले जनाएको छ। तर विमानस्थलका केही ‘सिलिङ प्यानल’मा क्षति पुगेको छ।
भूकम्प भएपछि विमानस्थलको प्रतीक्षालयमा विमान चढ्ने पालो कुरेर बसेका यात्रुहरूलाई केही समयका लागि अन्यत्र सारिएको थियो। अधिकारीहरूका अनुसार त्यहाँ एक जना घाइते भएका छन्।
‘इतिहासकै ठूलो’ भूकम्प
बीबीसीको ‘न्यूज डे’ कार्यक्रममा बोल्दै हवाई विश्वविद्यालमा जीओफिजिक्स एन्ड टेक्टोनिक्स डिभिजनकी सहायक प्राध्यापक हेलन जेनिसज्वेस्कीले भनिन्, “रुसको आजको भूकम्प इतिहासको सबैभन्दा भीषण भूकम्पमध्ये एक हो।”
अमेरिकी भौगर्गिक सर्वेक्षण निकाय यूएसजीएसका ८.८ म्याग्निट्यूड भनेको इतिहासको छैटौँ ठूलो भूकम्प हो। उक्त भूकम्प सन् २०१० मा बायोबाय चिली र सन् १९०६ मा एस्मेराल्डास, एक्वडोरमा गएका भूकम्पसरह हो।
यूएसजीएसका अनुसार चिलीको भूकम्प, “क्विरिह्वे सहरनजिकै समुद्र तटमा आएको थियो। त्यसमा परेर ५२३ जनाको मृत्यु भएको थियो भने ३,७०,००० वटाभन्दा बढी घरहरू नष्ट भएका थिए।
एक्वडोरको भूकम्पबारे यूएसजीएस भन्छ, “एक्वडोर-कोलम्बिया भूकम्प भनिने यो भूकम्पले एउटा शक्तिशाली सुनामी उत्पन्न गराएको थियो, जसमा परेर १,५०० व्यक्तिको ज्यान गएको थियो भने यो उत्तरमा सान फ्रान्सिस्कोसम्म पुगेको थियो।”
आश्चर्यको कुरा पाँचौँ सबैभन्दा भीषण भूकम्प पनि रुसको क्याम्च्याट्का क्राइमै आएको थियो। यो सन् १९५२ मा आएको थियो र विश्वमा रेकर्ड गरिएको पहिलो म्याग्निट्यूड ९.० को भूकम्प थियो।
सुनामीको लहरले बाढी
रुसको आपत्कालीन सेवासम्बन्धी मन्त्रालयका अनुसार सुनामीका लहरहरूका कारण रुसी बन्दरगाह नगर सेभेरो-कुरिल्स्कका कतिपय भागमा बाढी आएको छ।
उक्त नगरमा करिब २,००० व्यक्तिको बसोबास छ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडिओमा नगरनजिकै जमिनतिर पानीको सतह बढेको देखिन्छ।
प्रशान्त महासागरका तटीय क्षेत्रमा सुनामीको डर
जापानको मौसम विभागले विभिन्न स्थानमा सुनामी आउन सक्ने भनी जारी गरेको चेतावनी देखिने स्क्रीनतस्बिर स्रोत,Reuters
तस्बिरको क्याप्शन,जापानको मौसम विभागले विभिन्न तटीय क्षेत्रमा सुनामीको लहर ३ मिटर अग्लो हुन सक्ने जनाएको छ
रुसमा आएको भूकम्पका कारण प्रशान्त महासागरको तटीय क्षेत्रमा पर्ने विभिन्न स्थानमा सुनामी बज्रिन सक्ने ठानिएको छ।
- जापानः होक्काइडोदेखि क्युशुका तटीय क्षेत्रहरू
- अमेरिकाको वेस्ट कोस्टमा अवस्थित क्यालिफोर्नियाका तटीय क्षेत्रहरू
- अमेरिकाको हवाई
- अलास्काको दुर्गम अलुशन आइल्यान्ड्स
- गुआम
- पेरू
- एक्वडोरको तटपारि गालापागोस
- चीन
इन्डोनेशिया र फिलिपिन्सका तटीय क्षेत्रमा पनि मानिसहरूलाई सतर्क रहन सुझाव दिइएको छ।


















