भक्तपुर, ७ कात्तिकः विगत ६५ वर्ष अगाडिदेखि भाषिक र जातीय समानताका लागि आवाज बुलन्द गर्दै आएको विराट नेपालभाषा साहित्य सम्मेलनको ६५औँ सम्मेलन भएको छ । सम्मेलनमा वरिष्ठ साहित्यकार प्रा नर्मदेश्वर प्रधानले नेपालभाषा साहित्य क्षेत्रमा छ दशकसम्म अतुलनीय योगदान गर्ने भाषासेवी प्राध्यापक प्रेमशान्ति तुलाधरलाई अभिनन्दन गर्नुभयो ।
विराट गुथीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न सम्मेलनमा २५ जना साहित्यकारले नेपाल भाषाको साहित्य वाचन गर्नुभएको थियो । प्रतियोगितात्मक साहित्य प्रस्तुतिमा कविता विधातर्फ सविना महर्जन पहिलो, मिमला शर्मा दोस्रो, सकुन्तला महर्जन र वसन्त नकर्मीले तेस्रो स्थान हासिल गर्नुभयो ।
कथा विधातर्फ भने राकेश महर्जन पहिलो, रासा दोस्रो र महर्जन रत्नले तेस्रो स्थान हासिल गर्नुभयो । कार्यक्रममा कविता र कथामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई सम्मेलनमा पुरस्कृत गरिएको थियो । संस्थाको मुखपत्र ह्याउँबाला अङ्क ३५ र भाषासेवी प्रा प्रेमशान्ति तुलाधर नामक पुस्तिका प्रमुख अतिथि प्रा प्रधानबाट लोकार्पण गरिएको थियो ।
त्यस्तै स्नात्तकोत्तर तहमा नेपालभाषा विषयमा सर्वाधिक अङ्कका साथ उत्तीर्ण हुने सकुन्तला महर्जन (२०८१ र भिक्षु सोमरतन महर्जन (२०८२)लाई विराट सुरत्न सिरपाः प्रदान गरी सम्मान गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नेपाल भाषा विषय लिइ उत्तीर्ण हुने विराट नेपाल भाषा पदक जगतसुन्दर ब्वनेकुथि, चागः काठमाडौँका विद्यार्थी फिदा खातुन (२०८१) र कजना श्रेष्ठ (२०८२) लाई प्रदान गरिएको छ ।
सम्मेलनमा नेपाल भाषाका लोकप्रिय गायक सत्यनारायण मानन्धर, रिता महर्जन, पवित्र कसाः, प्रदीप शाक्य, रफेला महर्जन र निशान्त श्रेष्ठले गीत प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा गुथीका अध्यक्ष महेन्द्रगोपाल कमाचार्य, महेन्द्रराज शाक्य, विराट गुथीका उपाध्यक्ष कृष्णभक्त बोडे, कोषाध्यक्ष रामगोपाल चौगुठीलगायतले भाषा र साहित्यको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।