Prakash Adhikari August 7, 2025

-पाउलिन कोला बीबीसी न्यूज

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २२ साउन । अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्रालयद्वारा जारी एउटा सार्वजनिक सूचनाअनुसार बाह्रमहिने नमुना कार्यक्रमको उद्देश्य ओभरस्टे गर्ने अर्थात् भिसा अवधिभन्दा बढी समय बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु हो। जाँचका लागि आवश्यक जानकारी अपुग हुँदा पनि यो व्यवस्था लागु हुने छ।

मलावी र जाम्बियाबाहेक अरू देशका नागरिकहरूले पनि छिट्टै त्यसै गरी धरौटी रकम जम्मा गर्नुपर्ने हुन सक्ने अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार अमेरिका भ्रमणको समाप्तिसँगै धरौटी रकम चाहिँ फिर्ता हुने छ।

अवैध आप्रवासीहरूको प्रवाह रोक्ने राष्ट्रपति डोनल्ड ट्रम्पका कैयौँ कदमअन्तर्गत अमेरिकी प्रशासनले यो नियम ल्याएको हो।

ट्रम्पले दोस्रो कार्यकाल आरम्भ भएको पहिलो दिन नै यो दिशामा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

सूचनामा के छ?

विदेश मन्त्रालयले मङ्गलवार प्रकाशित गरेको सूचनामा भनिएको छः “व्यापारिक प्रयोजनका लागि या अस्थायी भिजिटर या मनोरञ्जनका लागि भिसा आवेदन ९बी(१रबी(२० गर्ने विदेशी तथा विदेश मन्त्रालयले तयार पारेको जानकारीअनुसार भिसा अवधि सकिएर पनि बसिरहने दर उच्च भएका देशका नागरिकहरू जहाँ जाँचका लागि आवश्यक जानकारी अपुग रहने गरेको देखिन्छ वा अथवा लगानीका आधारमा नागरिकता लिने विदेशी वा कुनै आवासीय आवश्यकताबिना नागरिकता प्राप्त गरेका विदेशीहरू यो नमुना कार्यक्रमबाट प्रभावित हुन सक्छन्।”

“वाणिज्य दूतावास अधिकारीले निर्धारण गरेअनुसार दूतावास अधिकारीहरूले गैरआप्रवासी भिसा निवेदकलाई १५ हजार डलरसम्मको धरौटी रकम जम्मा गरेपछि मात्र भिसा जारी गर्ने सर्त राख्न सक्छन्।”

मलावीका झन्डै १४ प्रतिशत नागरिक भिसा अवधिभन्दा बढी समय बस्ने गरेको पाइएको अमेरिकाको डिपार्टमन्ट अफ होमल्यान्ड सिक्युरिटीले सन् २०२३ मा प्रकाशित गरेको तथ्याङ्कमा उल्लेख छ।

त्यसको तुलनामा जाम्बियाका ११ प्रतिशत नागरिकहरू भने भिसा अवधिभन्दा बढी समय बस्ने गरेको पाइएको उक्त मन्त्रालयले जनाएको छ।

भिसा अवधिभन्दा बढी समय बस्ने नागरिकहरूमा हेइटीका ३१ प्रतिशत, म्यान्मारका २७ प्रतिशत र यमनका २० प्रतिशत छन्।

अमेरिकी यात्रा प्रतिबन्ध

यसै वर्षको ज्यानुअरीमा कार्यभार सम्हालेयता ट्रम्पले अमेरिकामा बस्दै आएका केही देशहरूका आप्रवासीका लागि सञ्चालन हुँदै आएका सहायता कार्यक्रम स्थगित गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो।

रिपब्लिकन राष्ट्रपतिले १२ देशका मानिसहरूमाथि अमेरिकाको यात्रामा प्रतिबन्ध लगाएका छन् भने अरू सात देशको हकमा आंशिक प्रतिबन्ध लगाउनुभएको छ।

उहाँको प्रशासनले सयौँ विदेशी विद्यार्थीका भिसा खारेज गरेको छ भने पूर्वचेतावनी नदिई अथवा पुनरावेदन गर्न नपाउने गरी कैयौँ अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरूलाई पक्राउ गरेको छ।

अमेरिकी हितविपरीत गतिविधि सञ्चालन गर्नेहरूलाई मात्रै लक्ष्यित गरिएको विदेश मन्त्रालयले बताउने गरेको छ।

निसाना बनाइएका कतिपय चाहिँ प्यालेस्टाइनप्रति समर्थन जनाउने कार्यक्रममा सहभागी भएका पाइएको छ।

तर आपराधिक गतिविधिमा संलग्न भएका अथवा तीव्र गतिमा सवारी गुडाएर नियम उल्लङ्घन गर्ने विदेशी नागरिकको पनि भिसा खारेज गरिएको आप्रवासन अधिकारीहरू बताउँछन्।

Share Now