Prakash Adhikari August 11, 2025
modi at pashupati

काठमाडौं, २६ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकाल। तेस्रो विदेश भ्रमण। श्रावणको तेस्रो सोमबार, अष्टमी तिथि।

उक्त दिन भारतीय प्रधानमन्त्रीले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा झन्डै डेढ घण्टा विशेष पूजा अर्चना गर्नुभएको थियो।

त्यसबेला भारतीय प्रधानमन्त्रीको सो कार्यक्रमको संयोजन गरेका तत्कालीन एक अधिकारीले सो भ्रमणले नेपाल भारत सम्बन्धमा ‘टेम्पल डिप्लोमेशी’ अर्थात् मठ मन्दिरको तीर्थयात्रा केन्द्रित ‘धार्मिक कूटनीति’लाई अभिवृद्धि गरेको बताउनुभएको छ।

त्यसपछिका वर्षहरूमा प्रधानमन्त्रीको रूपमा काठमाडौंको भ्रमण गर्दा मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्नुभएको छ।

हालैका वर्षहरूमा यी तीनै धार्मिक स्थलहरूमा भारतीय तीर्थयात्रीहरूको आकर्षण बढेको उल्लेख गर्दै विज्ञहरूले यसबाट लाभ लिन नेपालले पूर्वाधारहरूमा थप लगानी गर्नुपर्ने बताएका छन्।

पशुपतिनाथमा मोदीको त्यो जिज्ञासा

सन् २०१४ को मे महिनाको अन्तिम साता प्रधानमन्त्रीको शपथग्रहण गर्नुभएका भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एशियामा भुटानपछि नेपाललाई आफ्नो विदेश भ्रमणको दोस्रो गन्तव्य बनाउनुभएको थियो।

श्रावण महिनाको तेस्रो साता काठमाडौंमा उहाँले दूई दिन बिताउनुभयो जसले लामो समय उच्चस्तरीय भ्रमण नहुँदा गतिहीन जस्तो देखिएको नेपाल भारत सम्बन्धमा एक किसिमको हलचल नै ल्याइदिएको थियो।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.गोविन्द टण्डन उक्त भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरमा भारतीय प्रधानमन्त्रीले व्यक्त गरेको ‘भक्ति भाव’ अझै सम्झनुहुन्छ ।

उहाँले बीबीसीसँग भन्नुभयो, “त्यो बेला उहाँले ४७-४८ मिनेट पूजा गर्नुभएको थियो। पुरै परिक्रमा गर्दा लगभग सवा घण्टा लागेको थियो। पूजाआजा गर्न सिपालु, उहाँले नजानेको केही छैन, सबै अग्रसर भएर गर्ने खालको हुनुहुन्थ्यो। के हो, कसो हो भन्ने उहाँको जिज्ञासा मैले मेट्न पाएँ।”

मोदीले त्यसबेला २,५०० किलो चन्दन पशुपति क्षेत्र विकास कोषलाई उपहार दिनुभयो भने उक्त भ्रमणका क्रममा भारतले पशुपतिनाथ परिसरमा रहेका पुरातात्त्विक सम्पदाहरूको संरक्षणमा सघाउने प्रतिवद्धता जनाएको थियो।

टण्डन थप्नुहुन्छ, “उहाँले मैले यहाँ गर्नुपर्ने केही छ भने भन्नुहोस् भन्ने किसिमको जिज्ञासा पनि राख्नुभयो। मैले त्यो बेला तीनवटा कुरा राखेको थिएँ।”

पहिलो विषय धर्मशाला निर्माणको बारेमा थियो। “दुई देशबीचको जनस्तरको सम्बन्ध र पशुपतिमा आउने मान्छेहरूको लागि पनि यो त्यत्तिकै महत्त्वपूर्ण थियो। हामीले अर्बौँ रुपियाँ पर्ने जग्गा त्यसै दिइसकेका छौँ। त्यसमा भारतीय पक्षले दिने १५-२० करोड रुपियाँ नपाएर २० वर्षदेखि रोकिएको छ, चार चोटि शिलान्यास नै भइसक्यो भनेपछि उहाँले के कारण रहेछ भनेर सोध्नुभयो।”

“मैले भारतले टेन्डर आफ्नो देशमा खोल्छ। त्यहाँ खोलेपछि दिल्ली वा हरियाणाको (ठेकेदार)ले पाउला। उसले यहाँ चाहिने भन्दा बढी सामान माग्छ। त्यो भएर यहाँ कसैले काम गरेनन् भनेपछि उहाँले मैले कुरा बुझेँ। यसलाई म दुई महिनामा टुङ्गो लगाइदिन्छु भन्नुभएको थियो। दुई महिनामा त भएन तर केही महिना लाग्यो। नीति नै बदलेर काठमाडौंमा टेन्डर खोलियो जसले गर्दा समयमा नै धर्मशाला बन्यो।”

पशुपति मन्दिर नजिकै अवस्थित नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले सन् २०१८ को अगस्टमा गर्नुभयो।

पशुपति क्षेत्र विकास कोषले उक्त धर्मशाला एउटा निजी कम्पनीलाई वार्षिक १ करोड ५ लाख रुपियाँ लिने गरी १५ वर्षका लागि भाडामा लगाउने निर्णय सन् २०१९ मा गरेको थियो। उक्त सम्झौतालाई लिएर अदालतमा मुद्दा चलिरहँदा पाउनुपर्ने भाडा कोषले उठाउन नसकेको महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएको छ।

टण्डन भन्नुहुन्छ, “दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको र दुई देशबीचको समझदारीमा बनेको धर्मशाला आज कुनै व्यक्ति विशेषको स्वामित्वमा रहेको कम्पनी अन्तर्गत होटेलका रूपमा चलिरहेको छ। यसले नेपालप्रतिको विश्वसनीयता नै हरायो। त्यो गलत काम भयो। पशुपतिनाथ मन्दिरमा उहाँसँग कुरा गरेपछि अघि बढेको कुरा, मलाई त झुक्काए पो छु कि जस्तो लाग्छ।”

सम्पर्क सञ्जाल विस्तारमा नेपाली पक्षको जोड

टण्डनले मोदीको गृह नगर गुजरात र काठमाडौंसँग सम्पर्क सञ्जाल स्थापना गर्ने विषयलाई पनि आफूले त्यसबेला जोड दिएको सम्झनुभयो।

उहाँले भन्नुभयो, “नेपालीहरू ठूलो सङ्ख्यामा व्यापार व्यवसाय गरेर अहमदाबादमा बस्थे। उनीहरूलाई पनि आउन गाह्रो भइरहेको छ। बसमा आउँदा दुख पाउँछन्। सिधा उडान व्यवस्था गर्नुपर्‍यो भन्दा त्यो पनि गर्छु भन्नुभएको थियो। तर अहिलेसम्म त्यो भएको छैन।”

सन् २०२४ मा ३ लाख १७ हजार भन्दा बढी भारतीय पर्यटकहरूले हवाई मार्ग हुँदै नेपालको भ्रमण गरेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँकडाले देखाउँछ। तर सडक मार्ग हुँदै काठमाडौं आइपुग्ने पर्यटकको सङ्ख्या त्यो भन्दा कैयौँ गुणा बढी रहेको अधिकारीहरू बताउने गर्छन्।

अहिले पनि भारतका सीमित सहरहरूबाट नेपालको राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै उडान हुने गरेको छ। पोखरा र भैरहवामा खुलेका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा भारतबाट उडानहरू हुनुपर्ने माग पर्यटन व्यवसायीले राख्दै आएको पाइन्छ।

कैयौँ धार्मिक पर्यटकहरू चाहिँ सडक मार्ग हुँदै काठमाण्डू आएर पशुपतिनाथको दर्शन गरेर फर्कने गरेको पाइन्छ।

पशुपतिनाथबाट फर्किएपछि बनारसमा सुधार

मोदीले आफूले विगतमा गरेको पशुपतिनाथ भ्रमणको प्रसङ्ग पनि सन् २०१४ मा पूजा अर्चना गर्ने क्रममा उठाएको टण्डन सम्झनुहुन्छ।

उहाँ थप्नुहुन्छ “उहाँले मलाई मन्दिरको पश्चिमतर्फ देखाउँदै यहाँ त मलाई घर नै घर भएको जस्तो लागेको थियो, के भयो भनेर सोध्नुभयो। मैले घरले नै मन्दिर छेक्ने जस्तो अवस्था आयो जस्तो अवस्था बनारसको छ भनेर भनेँ। अनि हामीले यहाँको ११९ वटा घरलाई स्थानान्तरण कसरी गरियो त्यो बताएँ। गाह्रो त भयो तर ०५८ सालमा सङ्कटकालको समयमा झटपट गरिहालेको भनेपछि ए बुझेँ भन्नुभयो।”

“यहाँबाट गएको एक डेढ महिनापछि उहाँले बनारसमा यस्तै काम अघि बढाउनुभयो। (त्यो बेला) बनारसको सानो सानो गल्लीबाट विश्वनाथको दर्शन गर्न जान नै गाह्रो थियो। यहाँ हेरेर गएपछि शायद पशुपतिनाथमा त सक्दो रहेछ, यहाँ किन नसक्ने भन्ने उहाँलाई आयो होला। त्यसपछि बनारस, काशी, विश्वनाथलाई अहिले जुन रुप दिनुभएको छ, त्यो ठूलो पर्यटकीय केन्द्र बन्यो।”

नरेन्द्र मोदीको उक्त भ्रमण नेपालमा भारतीय प्रधानमन्त्रीले १७ वर्षको अन्तरालमा गरेको पहिलो दुईपक्षीय भ्रमण थियो। त्यसयताका वर्षमा नेपाल भारत सम्बन्ध नाकाबन्दी र नक्सा विवाद जस्ता कारणले नाटकीय उतारचढावबाट गुज्रिएको छ।

तर प्रधानमन्त्रीको हैसियतमा उनले गरेको पहिलो नेपाल भ्रमणले पशुपतिनाथलाई ‘मन्दिर कूटनीति’को केन्द्रमा उभ्याएको टण्डन ठान्नुहुन्छ।

उहाँले भन्नुभयो, “नेपालमा द्वन्द्व सुरु हुनुअघि प्रशस्तै भारतीयहरू पशुपतिनाथमा आउने गर्थे। तर त्यो १० वर्षको समयले धेरै कुरा मानिसहरूलाई बिर्साइदियो। तर जब २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आउनुभयो, त्यसपछि मोदीले कहाँ कहाँ पूजा गर्नुभयो, कहाँ कहाँ दर्शन गर्नुभयो हामी पनि गर्छौँ भनेर मानिसहरूको भीड आयो।”

उहाँले थप्नुभयो, “टेम्पल डिप्लोमेशीको लागि पनि पशुपतिनाथमा व्यवस्थित पूजाआजा देखि स्वागत सत्कारसम्मको व्यवस्था गर्नुपर्छ। उच्च पदस्थ व्यक्तिहरूलाई टोली नै बनाएर स्वागत गर्ने अन्तरक्रियाहरू गर्ने गर्‍यो भने जनस्तरको सम्बन्धमा फाइदा हुन्छ। पशुपतिनाथको गरिमा र महिमा र उपादेयता बुझ्न सक्यौँ भने त्यसबाट राजनीतिक, सामाजिक, आर्थिक हरेक कुरालाई त्यसले केही नयाँ आकार दिन सक्छ।”

आगन्तुक पुस्तिकामा भारतीय प्रधानमन्त्री मोदीले त्यसबेला पशुपतिनाथलाई ‘आस्था र विश्वासको अद्वितीय केन्द्र’ भन्दै लेख्नुभएको थियो, “स्कन्द पुराणको हिमवत खण्डमा काशी विश्वनाथ र पशुपतिनाथ एकै रूप हो भनिएको छ‘। नेपाल र भारतलाई जोड्ने पशुपतिनाथको कृपा दुवै देशका जनतालाई परिरहोस्, यही मेरो कामना छ।”

कैयौँ शताब्दीदेखि चलेको भारतीय मूल भट्ट राख्ने परम्परा

पशुपतिनाथ मन्दिरमा मुलभट्ट १ जना, सहयोगी भट्ट ३ जना र वासुकी मन्दिरमा एक जना भट्ट हुनुहुन्छ। उहाँहरू सबै दक्षिण भारतको कर्नाटकका हुनुहुन्छ।

टण्डन लिच्छवी कालको अभिलेखमा सन्यासीहरूले पशुपतिनाथमा पूजा सञ्चालन गर्ने गरेको सुरुका अभिलेखले देखाएपनि ११९९ आसपासबाट दक्षिण भारतका भट्टहरूले पूजा गर्ने परम्परा चलेको बताउनुहुन्छ। पछि त्यो पनि विखण्डन भएर फेरि भारतबाटै आएका सन्यासीहरूले पूजा गर्न थालेको उहाँले उल्लेख गर्नुभयो।

“तर नेपाली पुजारीहरूले पशुपतिनाथ मन्दिरमा कहिल्यै पनि पूजा गराएनन्। भगवान् शिवको शिवस्व लाग्छ, त्यो लाग्यो भने सात पुस्तालाई छाड्दैन, त्यही भएर हामी नगर्ने यो चाहिँ शाकाहारी, शुद्ध ब्राह्मण, कुनै घाउ खत नलागेकोलाई दिनुपर्छ भन्ने भयो। दक्षिण भारतका भट्टहरू कृष्ण यजुर्वेदीहरू हुन्। हामी जस्तो इन्जिनियर बन्न पढ्छौँ, उनीहरू पुजारी बन्नकै लागि पढ्छन्। पशुपति क्षेत्र विकास कोषले एउटा नियम निकालेको छ, उतैको पत्र पत्रिका अनलाइनमा विज्ञापन निकालेर छनौट गर्ने गरिन्छ।”

“भारतको श्रृंगेरी मठले उनीहरूलाई छनौट गरेपछि मात्रै उनीहरू भट्ट बन्न योग्य हुन्छन्। अहिलेको दाक्षिणात्य भट्टहरूको प्रचलन झन्डै झन्डै ३०० वर्षदेखि अविच्छिन्न रूपमा चलिरहेको छ। यो बीचमा प्रधानमन्त्री बनेको समयमा प्रचण्डले नेपाली किन नराख्ने भनेर ठूलो तहल्का मच्चाइदिनुभयो। त्यो बेला विष्णु दाहाल भट्ट बनेर निस्कनुभयो। तर चारैतिरबाट विरोध भएपछि उहाँले राजीनामा दिनुपर्‍यो। त्यसपछि राजीनामा दिएर बसिरहेका भट्टहरूलाई उनीहरूको राजीनामा खारेज गरेर फेरि नियुक्त गरियो।”

उक्त कदम शान्ति प्रक्रियामा आएर आफू सहभागी भएको पहिलो चुनावमा जीत हासिल गरेको माओवादीका लागि प्रत्युत्पादक भएको ठानिन्छ।

पशुपतिनाथमा कति भारतीयहरूले भ्रमण गर्छन्?

पशुपति विकास कोषले पशुपतिनाथको भ्रमण गर्नेहरूको यकिन सङ्ख्या राख्ने गरेको पाइँदैन। तर कोषका प्रमुख कार्यकारी सुभाषचन्द्र जोशीले आफूहरूले तथ्याङ्क राख्ने प्रयास अघि बढाउन लागेको र भारतीय धार्मिक पर्यटकहरूलाई आकर्षित गर्न कामहरू गरिरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “अहिले पनि कहिलेकाहीँ ८०र९० प्रतिशतसम्म भारतीयहरू आउनुहुन्छ। जनस्तरबाट स्वस्फूर्त ढङ्गले र यदाकदा भारत सरकारका उच्च अधिकारीहरू पनि दर्शन गर्न आउनुहुन्छ। हामीले भारतीय पक्षलाई मन्दिरको थप प्रवर्द्धन गर्न विशिष्ट व्यक्तित्वलाई सांस्कृतिक दूत बनाएर अघि बढ्न पनि प्रस्ताव गरेका छौँ जसमा भारतीय पक्ष सकारात्मक छ।”

यसै महिनामात्रै बलिवुडका एक जना अभिनेता चङ्की पाण्डेले सामाजिक सञ्जाल इन्स्टाग्राममा पशुपतिनाथको भ्रमण गरेको उल्लेख गर्दै एउटा तस्बिर पोस्ट गर्नुभयो। शुक्रवार भारत सरकारका सिपिङ तथा जलमार्ग सम्बन्धी मन्त्री सर्बनन्द सोनोवलले पशुपतिनाथमा पूजा अर्चना गर्नुभयो।

हिन्दू धर्मावलम्बीहरूले पशुपतिनाथलाई आफ्नो आराध्य देवताको रूपमा पूज्छन्। श्रावण महिनाबाहेक शिवरात्री, तीज, बाला चतुर्दशीजस्ता पर्वमा पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको घुइँचो लाग्ने गरेको पाइन्छ।

अहिले कैलाश मानसरोवर जाने समय भएको भन्दै पर्यटन व्यवसायीहरू तिब्बतको उक्त धार्मिक स्थल जाने भारतीय पर्यटकहरूले पनि पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गर्ने गरेका बताउँछन्।

पूर्व सदस्यसचिव टण्डन पशुपतिनाथको चर्चा वेद र संस्कृत वाङ्मयमा गरिएको बताउँदै यसप्रति भारतमा ठूलो भक्तिभाव रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “चार धाम यात्रापछि पशुपतिनाथको पूजाआजा गरिसकेपछि मात्रै धार्मिक यात्रा पूर्ण हुने मान्यता पाइन्छ।”

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको पर्यटन नीति २०८२ मा धार्मिक पर्यटकीय गन्तव्यहरूलाई परिपथ (धार्मिक सर्किट)को रूपमा विकास गरी पर्यटनको प्रवर्धन गर्ने उल्लेख गरिएको छ।

प्रमुख कार्यकारी जोशीले आफूहरूले पशुपतिनाथ क्षेत्रलाई पनि धार्मिक सर्किटमा राख्ने गरी मन्त्रालयसँग छलफल गरिरहेको बताउनुुहुन्छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशी धार्मिक पर्यटनमा उल्लेख्य सङ्ख्यामा भारतीयहरू आउने गरेको र बोर्डले यसमा केन्द्रीत हुने गरी कार्यक्रमहरू गर्ने सोच राखेको बताउनुभयो।

“पशुपतिनाथ त भइहाल्यो, भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि मुक्तिनाथमा पनि भारतीयहरूको रुचि धेरै बढेको छ”, उहाँले भन्नुभयो।

लुम्बिनी, जनकपुरधाममा समेत आकर्षण बढेको उहाँले बताउनुभयो। यो वर्ष कैलाश भ्रमणका लागि पनि खुलेको कारण धार्मिक पर्यटनले उल्लेखनीय योगदान दिइरहेको जोशीले बताउनुभयो।

“अचेल चतरा, स्वर्गद्वारीजस्ता अन्य ठाउँहरूमा पनि भारतीय पर्यटक धेरै आउन थालेका छन्। हलेसीमा चाहिँ भुटान र म्यान्मारबाट पर्यटकहरू आउँछन्।”

भारतले कुम्भ मेलालाई एउटा प्रमुख धार्मिक पर्यटनको गन्तव्य बनाएजस्तै नेपालमा शिवरात्रि, इन्द्रजात्रा वा विवाह पञ्चमीमा धार्मिक पर्यटकलाई तान्ने कार्यक्रमहरू गरिने उहाँले बताउनुभयो।

धार्मिक सांस्कृतिक सम्बन्ध र राजनीतिक विवाद

करिब २ सय ६४ हेक्टरमा फैलिएको पशुपति क्षेत्रमा साना ठूला विभिन्न शैलीका मन्दिर, सत्तल, देवलाय, ढुङ्गे धारा र चैत्यजस्ता ५०० संरचना र १ हजार शिवलिङ्ग रहेका बताइन्छ।

नेपाल भ्रमणमा आउने उच्चपदस्थ भारतीय अधिकारीदेखि चर्चित कलाकारहरूले उच्च प्राथमिकतामा पशुपतिनाथको भ्रमण पर्ने गरेको पाइन्छ।

सन् २००६ को राजनीतिक परिवर्तनपछि नेपाल धर्म निरपेक्ष राष्ट्र बनेको छ र अहिले पशुपति क्षेत्र विकास कोषको संरक्षकमा नेपालको प्रधानमन्त्री रहने व्यवस्था छ।

 

Share Now