Prakash Adhikari August 11, 2025

काठमाडौं, २६ साउन । अस्ट्रेलियाको डार्बिनमा आयोजना हुने टप एण्ड टी २० सिरिजमा भाग लिन नेपाली राष्ट्रिय क्रिकेट टोली आज अष्ट्रेलिया प्रस्थान गर्दैछ ।

नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघले आइतबार राजधानीमा एक विशेष कार्यक्रममा बिदाई गरेको छ । खेल बिहीवार सुरु हुने कार्यतालिका छ ।

कप्तान रोहितकुमार पौडेल नेतृत्वमा अष्ट्रेलिया जाने टिममा दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र शाहब आलम रहेका छन् । नेपालका नामी बलर ललितसिंह राजवंशीकी आमाको निधन भएकोले उनको ठाउँमा आलमलाई चयन गरिएको हो ।

 

सिरिजमा नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहन सके नेपाल सिरिजको सेमिफाइनलमा पुग्नेछ । पहिलो पटक यो सिरिजमा भाग लिएको नेपालको शुक्रवार नर्थ टेरिटोरि स्ट्राइकसँग खेल्नेछ ।

नेपालले खेल्ने सबै ५ टोलीको घोषणा भएको छ ।

एनटीको आयोजनामा हुने टप इण्ड सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

त्यस्तै सिरिजमा बीबीएलका हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका एकेडेमी टोलीहरुको सहभागी हुने छन् ।

स्थानीय दुई टोली प्रतियोगितामा सहभागिता रहने छ । खेलतालिका अनुसार खेलहरु ५ वटा स्थानीय मैदानमा हुनेछन् । उद्घाटन खेल भने पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीचमा हुनेछ ।

नेपालको पहिलो खेल अगस्ट १५ (साउन ३०) मा नर्दन टेरिटोरी स्ट्राईकसँग छ । दोस्रो खेलमा नेपालले १६ अगस्ट मा बंगलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेनवर्न स्टारको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ) मा बिहान हुनेछ।

चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग १९ अगस्ट (भदौ ३) खेल्नेछ । पाँचौ खेल २० अगस्ट (भदौ ४) मा मेलवर्न रेनेगेड्सको एकेडेमी टोलीसँग खेल्नेछ ।

छैटौं खेलमा अगस्ट २२ (भदौ ६) मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ ।

सेमिफाइनल र फाइनलका खेलहरु २४ अगस्ट (भदौ ८) मा हुनेछन् ।

Share Now