काठमाडौं, २७ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेलमा पहिरिने जर्सीलाई नेपालको शेयर बजारमा ख्याति कमाएको ब्रोकर नं ५८ नासा सेक्युरिटीले प्रायोजन गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतवार नासा सेक्युरिटीजसँग ३ वर्षको लागि ७ करोड ८ लाखको प्रायोजन सम्झौता गरेको हो।
क्यानका अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले एक भव्य समारोहका बीचमा प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार नासा सेक्युरिटिजले वार्षिक २ करोड ३६ लाख क्यानलाई उपलब्ध गराउनेछ। सम्झौता ३ वर्षको लागि भएको क्यानका सचिव पारस खड्काले जानकारी दिनुभएको छ।
नेपाली खेलकुदमा नै जर्सी प्रायोजनको यो अहिलेसम्मकै सर्वाधिक रकम हो। यसअघि क्यानले माई सेकेन्ड टिचरसँग वार्षिक ७७ लाखको सम्झौता गरेको थियो।
यो सम्झौता राष्ट्रिय सिनियर पुरुष टोलीको लागि मात्र भएको पनि क्यानका प्रवक्ता छुम्पी लामाले बताउनुभएको छ ।
सम्झौतापछि नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर पौडेलले यो सम्झौता मात्र नभएर नेपाली क्रिकेट प्रतिको प्रतिबद्धता भएको बताउनुभएको थियो। नेपाली क्रिकेटसँग जोडिन पाउनु नासाको लागि गर्वको विषय भएको भन्दै उहाँ भन्नुभयो,’ यो सुरुवात मात्र हो, नेपाली क्रिकेट विकासको लागि भविष्यमा नासा थप उत्साहका साथ अगाडी बढ्ने छ।’
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले यो सम्झौताप्रति खुशी व्यक्त गर्नुभयो। उहाँले नेपाली खेलकुदमा क्यान लिडिङ संघ भएको पनि जिकिर गर्नुभयो।
क्यान अध्यक्ष चन्दले यो सम्झौताको लागि नासालाई धन्यवाद दिनुभयो। उहाँले नेपाली टोलीका खेलाडीलाई क्यान क्रिकेट विकासको लागि ठूला ठूला काममा लागेकोले खेलाडीलाई क्यानभित्रको सानातिना राजनीतिमा नफस्न पनि आग्रह गर्नुभयो।
सोही कार्यक्रममा नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। जर्सीको अगाडि नासा लेखिएको छ।


















