वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २७ साउन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लामदिमिर पुटिनसँग शुक्रवार हुने भेटवार्ताका क्रममा रुसबाट केही युक्रेनी भूभाग फिर्ता गराउन प्रयास गर्ने बताउनुभएको छ।
“रुसले युक्रेनको एउटा ठूलो हिस्सा अधीनमा लिएको छ। उनीहरूले महत्त्वपूर्ण भूभाग लिएका छन्। हामी केही भूभाग फिर्ता गराउने प्रयास गर्न जाँदै छौँ “, ह्वाइट हाउसमा एउटा पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो ।
यो साताको अन्त्यतिर अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच अलास्कामा वार्ता हुने तय भएको छ।
प्रगति सम्भव हुने वा नहुने कुरा पुटिनसँगको भेटको दुई मिनेटमै आफूले थाहा पाउने ट्रम्पको दाबी छ।
युद्ध अन्त्य गर्नका लागि पुटिनलाई आग्रह गर्ने गरी शुक्रवारको बैठक ूमनस्थिति बुझ्ने बैठकू हुने ट्रम्पले बताउनुभएको छ।
भूभाग साटासाट
पुटिनले उक्त भेटवार्तालाई प्रारम्भिक भेटघाटका रूपमा पनि हेर्न सक्ने ट्रम्पले उल्लेख गर्नुभयो। रुस र युक्रेनबीच ‘केही भूभाग साटासाट, परिवर्तन’ हुने उहाँले चेतावनी दिनुभयो ।
ट्रम्पले ‘भूभाग साटासाट’ को कुरा गरेको पहिलो पटक भने होइन, यद्यपि रुसले कुन भूभाग दिन सक्ने भन्ने कुरा स्पष्ट छैन। किएभले रुसी भूभागमाथि कहिल्यै आफ्नो दाबी गरेको छैन।
भेटवार्ताका क्रममा पुटिनले ‘निष्पक्ष सम्झौता’को प्रस्ताव गरेमा त्यसबारे युरोपेली नेताहरू जानकारी गराउने ट्रम्पले बताउनुभएको छ ।
‘सम्मान स्वरूप’सबैभन्दा पहिला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सबैभन्दा पहिला त्यसबारे कुरा गर्ने पनि ट्रम्पले उल्लेख गर्नुभयो ।
“सबैभन्दा पहिला म उहाँलाई कल गर्छु‘ म उहाँलाई त्यसपछि कल गर्छु र भन्न सक्छु भाग्यले साथ देओस्, लडिराख्नूस् अथवा म भन्न सक्छु कि हामी एउटा सम्झौता गर्न सक्छौँ”, ट्रम्पले भन्नुभयो।
यसअघि जेलेन्स्कीसँग भेटवार्ता हुँदा उहाँले गरेका कुरासँग आफू एकदमै असहमत भएको पनि ट्रम्पले बताउनुभयो।
यसअघि ट्रम्पले सन् २०२२ को फेब्रुअरीदेखि रुसले पूर्ण स्तरमा अतिक्रमण गर्ने गरी जेलेन्स्कीले युक्रेनमा युद्ध निम्त्याएका आरोप लगाउनुभएको थियो ।
जेलेन्स्कीको प्रतिक्रिया
भावी भेटवार्तामा जेलेन्स्की पनि सहभागी हुन सक्ने भन्दै ट्रम्पले पुटिन र आफू पनि त्यसमा संलग्न हुने बताउनुभयो ।
युरोपेली आयोगकी उपाध्यक्ष काया कालसले युक्रेन सहमत नहुने सम्झौताप्रति युरोप सहमत नहुने कुरा स्पष्ट रहेको बीबीसीलाई बताउनुभयो ।
“यदि सम्झौताको एउटा हिस्सा युक्रेन हुँदैन भने कुनै पनि सम्झौता लागु हुने छैन। त्यो भएर सम्झौताका लागि युक्रेनको संलग्नता जरुरी हुन्छ”, जेलेन्स्कीलाई पनि बैठकमा निम्त्याइने आशा व्यक्त गर्दै उहाँले भन्नुभयो ।
क्रेम्लिनले जेलेन्स्कीसँग बैठक हुने अपेक्षालाई सधैँ बेवास्ता गर्दै आएको छ। हालै पुटिनले जेलेन्स्कीसँग भेटवार्ताको सम्भावना सुदूर रहेको दोहोर्याउनुभएको थियो ।
ट्रम्पले रुसी राष्ट्रपति आफ्नो भेटवार्ता हुन लागेको कुरा गत शुक्रवार घोषणा गर्नुभएको थियो ।
युक्रेनसँग युद्धविराम सम्झौता गर्न वा थप कडा प्रतिबन्धहरूको सामना गर्न भन्दै उहाँले युक्रेनलाई शुक्रवारसम्मकै म्याद दिनुभएको थियो ।
अलास्कामा दुई दुई नेताबीच हुन लागेको शिखर बैठकसम्बन्धी समाचारबारे प्रतिक्रिया जनाउँदै जेलेन्स्कीले किएभको तर्फबाट केही नभई गरिने ‘निर्णयहरू मृत सरह’ हुने टिप्पणी गर्नुभयो।
सोमवार युक्रेनी गुप्तचर निकायको एउटा रिपोर्टलाई उल्लेख गर्दै जेलेन्स्कीले रुस लडाइँ रोक्ने तयारी गरेको कुनै सङ्केत नपाइएको बताउनुभएको थियो ।


















