बीबीसी न्यूज एन्ड ग्लोबल जर्नलिजम
लण्डन(संयुक्त अधिराज्य), ३० साउन । रुस(युक्रेन युद्ध रोक्नेतर्फ केही महिनादेखि प्रयत्नरत अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार रुसी नेता भ्लादिमिर पुटिनसँग बैठक गर्ने योजना बनाएको बताएका छन्।
युद्ध रोक्ने पहलतर्फ ट्रम्पको यो नयाँ कदम हो। युद्धविरामका निम्ति सहमत हुन वा व्यापक प्रतिबन्धको सामना गर्न रुसलाई दिइएको समयसीमाको अन्तिम दिनमा ुशिखर बैठकु हुँदै छ।
ट्रम्पको चाहनामा रुस र युक्रेनबीच यसअघि तीन चरणमा भएको कुराकानीले दुवै पक्षलाई शान्तिको नजिक ल्याउन सकेको छैन।
प्रस्तुत सामग्रीमा यी दुई नेताबीचको बैठकबारे हामीलाई थाहा भएका कुराहरू समेटिएका छन्।
किन भेट्दै छन् ट्रम्प र पुटिन?
ज्यानुअरीमा ह्वाइट हाउस छिर्नुअगावै ट्रम्पले रुस(युक्रेन युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए र कैयौँ पटक आफू राष्ट्रपति बनेको २४ घण्टामै युद्ध समाप्त गरिदिने बताउनुभएको थियो।
तर त्यसयता उहाँको प्रशासन पूरै उक्त कोसिसमा लागे पनि खासै सफलता हात परेको छैन।
प्रारम्भिक कुराकानीहरूले केही आशा जगाए पनि बिस्तारै त्यो धमिलिँदै गएको देखियो।
गत महिना बीबीसीसँगको कुराकानीमा ट्रम्पले अमेरिकी दूत स्टिभ विट्कफका कैयौँ भ्रमणको सन्दर्भ लिँदै पुटिनले आफूलाई निराश पारेको स्वीकार्नुभएको थियो।
ट्रम्पले पुटिनलाई युद्धविरामका निम्ति तत्काल सहमत हुन वा गम्भीर अमेरिकी प्रतिबन्धहरूको सामना गर्न शुक्रवारसम्मको समय दिएपछि निराशा झनै चुलियो।
तर समयसीमा आएपछि भने ट्रम्पले शुक्रवार पुटिनसँग भेट्न लागेको घोषणा गर्नुभयो।
ट्रम्पका अनुसार मस्को पुगेर विट्कफले बुधवार पुटिनसँग अत्यन्तै फलदायी कुराकानी गरेलगत्तै यो बैठक हुन लागेको हो।
कहाँ हुँदै छ बैठक?
यसअघि रोमदेखि हङ्गेरी र संयुक्त अरब इमिरेट्ससम्मका स्थानमा वार्ता हुने हल्ला चले पनि अन्तिम रोजाइ वाशिङ्टननजिकै निस्कियो।
गत साता ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोशलमार्फत् उहाँ र रुसी समकक्षी पुटिनबीचको बहुप्रतीक्षित बैठक १५ अगस्टका दिन ‘ग्रेट स्टेट अफ अलास्कामा हुने’ जानकारी दिनुभयो।
त्यसमा उहाँले बाँकी जानकारी पछि दिइने उल्लेख गर्नुभयो।
ट्रम्पले थुप्रै कारणका निम्ति निकै लोकप्रिय स्थलमा बैठक हुने बताए पनि अलास्काको कुन ठाउँमा बैठक बस्दै छ भन्ने खुलाइएको छैन।
के युक्रेन पनि सामेल हुँदै छ,
त्यस्तो देखिएको छैन तर अमेरिकी सञ्चारमाध्यमहरूमा आएका विवरणहरूका अनुसार उक्त बैठक सफल भएमा ट्रम्प, पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अर्को बैठक हुन सक्छ।
पुटिन र ट्रम्पबाहेक शुक्रवारको शीर्ष बैठकमा अरू को सामेल हुन सक्छन् भन्ने अहिलेसम्म स्पष्ट छैन।
मस्कोप्रति यूरोप कडा तरिकाले प्रस्तुत हुन सक्ने भन्दै जेलेन्स्कीले उहाँहरूलाई पनि यी वार्ताहरूमा स्थान दिन महिनौँदेखि अमेरिकासमक्ष अपील गर्दै आउनुभएको छ।
“युद्ध युरोपमा भइरहेको हो, युक्रेन युरोपको अभिन्न हिस्सा हो र हामी पहिलेदेखि नै युरोपेली सङ्घमा सामेल हुनेबारे छलफलमा छौँ”, जेलेन्स्कीले भन्नुभएको छ, “त्यसले गर्दा सान्दर्भिक प्रक्रियाहरूमा युरोप सहभागी हुनुपर्छ।”
यो साता ट्रम्प र जेलेन्स्की दुवै एकअर्कासँग र आफ्ना युरोपेली समकक्षीहरूसँग सम्पर्कमा रहनुभएको छ।
आफ्ना विशेष दूतले रुस पुगेर पुटिनलाई भेटेपछि ट्रम्पले युरोपेली नेताहरूसँग सम्भावित शान्ति सम्झौताबारे कुराकानी गर्न पुटिनलाई भेट्ने आफ्नो योजनाबारे जानकारी दिनुभयो।
जेलेन्स्कीले ट्रम्पसँग मङ्गलवार ‘अर्थपूर्ण कुराकानी’ भएको बताउँदै त्यस क्रममा आफूले ट्रम्पलाई रुसले ‘आक्रमणका क्रममा क्रूरता बढाइरहेको’ बताएको जानकारी दिनुभयो ।
जेलेन्स्कीले यसअघि युक्रेनी भूमिकाबिना क्रेम्लिनसँग हुने कुनै पनि सम्झौतालाई स्वीकार्न नसक्ने बताउनुभएको थियो ।
ट्रम्प-पुटिनबीच बैठक हुन लागेको खबरबारे युक्रेनले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया जनाएको छैन।
युक्रेनका सहयोगीहरूको धारणा
युरोपेली सहयोगीहरूले कुनै पनि किसिमका शान्तिवार्ताहरूमा किएभलाई सामेल गराइनुपर्नेमा जोड दिएका छन्।
यो कुरा यूके, फ्रान्स, इटली, जर्मनी, पोल्यान्ड, फिनल्यान्ड र युरोपेली आयोगका नेताहरूद्वारा जारी संयुक्त वक्तव्यमा पनि उल्लेख छ।
ह्वाइट हाउसका एक अधिकारीले ट्रम्प युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहितको त्रिपक्षीय बैठकका निम्ति तयार भए पनि अहिलेका निम्ति भने रुसी नेताले प्रारम्भमा अनुरोध गरेझैँ ट्रम्प र पुटिनबीच मात्रै शीर्ष बैठक हुने बताएका छन्।
जेलेन्स्कीले किएभबिनाका सहमतिहरू ‘मृत निर्णय’सरह हुने बताउनुभएको छ।
यसअघि केवल पुटिनसँग बैठक गरेर आफ्नो नयाँ प्रयास सुरुआत गर्न सक्ने बताएका ट्रम्पले संवाददाताहरूसँग आफ्नो उक्त योजनाबारे बताउनुभएको थियो।
तर सँगसँगै उहाँले आफूहरूसँग पुटिन र जेलेन्स्की दुवैसँग त्रिपक्षीय बैठक आयोजना गर्ने ‘एउटा मौकासमेत भएको’ बताउनुभयो।
पुटिन यसमा सहमत हुन्छन् कि हुन्नन् भन्ने स्पष्ट छैन। उहाँले प्रत्यक्ष कुराकानीका केही अवसरलाई नकार्नुभएको थियो।
तीन वर्षअघि पुटिनले युक्रेनमा पूर्ण स्तरको आक्रमण थालेयता यी दुई नेताबीच आमुन्नेसामुन्ने भेटघाट भएको छैन।
अपेक्षा केके छन्?
ट्रम्पको लक्ष्य स्पष्ट रहँदै आएको छ, उहाँ युद्ध रोक्न चाहनुहुन्छ, जसबारे चुनावका क्रममा उहाँले प्रतिबद्धता जनाउनुभएको थियो।
“मान्छे मर्नेमार्ने क्रमलाई रोक्न जेजे गर्न सक्छु, म गर्छु”, यो साता ट्रम्पले भन्नुभयो।
गत शुक्रवार उहाँले दुई देशबीचको सम्झौता ‘निकै निकट रहेको’ बताउनुभयो।
त्यसो त दुवै देशले आफूहरूले पनि युद्धको अन्त्य चाहेको बताइरहेका छन् तर सँगसँगै दुवैले अर्को पक्षले कडा रूपमा विमति राख्ने कुराहरू चाहेको देखिन्छ।
युक्रेन रुसद्वारा कब्जा गरिएका क्षेत्र र त्यसमा पनि उल्लेखनीय रूपमा क्राइमियामाथिको नियन्त्रण स्वीकार नगर्ने अडानमा छ।
जेलेन्स्कीले त्यसबारे छलफल गरिरहनु पर्ने कुरा नभएको र त्यो युक्रेनको संविधानविपरीत भएको बताउनुभएको छ।
पुटिन पनि अहिलेसम्म भूमिमाथिको अधिकतम माग, युक्रेनको तटस्थता र भविष्यमा उसको सेनाको आकारबारे टसमस हुनुभएको छैन।
उहाँले युक्रेनको पश्चिमीकरण भएको र नाटोले आफ्नो सेनालाई रुसको सीमानजिकै पुर्याउन युक्रेनलाई प्रयोग गरिरहेको ठहर गर्दै युक्रेनमाथि आंशिक रूपमा आक्रमण गर्नुभयो।
तथापि ह्वाइट हाउसले एउटा सम्भावित योजनासहित दुवै पक्षलाई मनाउने कोसिस गरिराखेको छ।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजको विवरणका अनुसार ट्रम्प प्रशासनले एउटा त्यस्तो युद्धविराम सम्झौतामा सहमत गराउने प्रयास गरिराखेको छ, जसले युक्रेनी क्षेत्रको ठूलो हिस्सा रुसलाई सुम्पिने छ।
यी वार्ताहरूबारे जानकार स्रोतहरूका अनुसार उक्त सम्झौताले क्राइमिया प्रायद्वीपमाथि रुसलाई नियन्त्रण कायम राख्न र (डोनेत्स्क र लुहान्स्क मिलेर बनेको) पूर्वी युरोपको डोनबास क्षेत्र लिने अनुमति दिने छ।
रुसले सन् २०१४ मा अवैध रूपले क्राइमियालाई कब्जामा लिएको थियो र यसका फौजहरूले डोनबास क्षेत्रका अधिकांश हिस्सालाई नियन्त्रण गर्छन्।
उक्त सम्झौताअनुरूप रुसले खेरसन र जापोरिझाका युक्रेनी क्षेत्रहरूलाई छाड्नुपर्छ, जहाँ अहिले उसको केही सैन्य नियन्त्रण छ।
“दुवैको भलाइका निम्ति केही क्षेत्रहरूको सट्टापट्टा गरिने छ तर यसबारे हामी पछि वा भोलि चर्चा गर्ने छौँ “,ट्रम्पले गत साता ह्वाइट हाउसमा संवाददाताहरूसँग भन्नुभएको थियो।
अलास्कामा बैठक राखिनुको अर्थ
त्यसका धेरै कारणहरू छन्।
यो सुरक्षा चासोहरूलाई धेरै हदसम्म सजिलो पार्ने अमेरिकी क्षेत्र हो।
यसले ट्रम्पलाई त्यस्तो भूमिमा रुसी समकक्षीको आतिथेयका रूपमा पनि स्थापित गर्छ, जुन भूमि अमेरिकाले डेढ शताब्दीभन्दा अघि रुससँग किनेको थियो।
रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले उक्त स्थानलाई अधिक उचित भएको बताउनुका साथै दुई देशहरू छिमेकी भएको र केवले बेअरिङ स्ट्रेटले छुट्याएको दोहोर्याउनुभएको छ।
“रुस र अमेरिका सीमा जोडिएका निकटका छिमेकी हुन्”, उहाँले भन्नुभयो, “हाम्रा प्रतिनिधिमण्डल बेअरिङ स्ट्रेटमाथिबाट सहजै हवाई उडानमार्फत् अलास्कामा आयोजना हुने दुई देशका नेताहरूको महत्त्वपूर्ण र बहुप्रतीक्षित शीर्ष बैठकमा पुग्ने कुरा अधिक उचित देखिन्छ।”
पछिल्लो पटक सन् २०२१ को मार्चमा अलास्कामा यस्तो कुटनीतिक कार्यक्रम भएको थियो जतिखेर तात्कालिक राष्ट्रपति जो बाइडनका नयाँ कूटनीतिक र राष्ट्रिय सुरक्षा समूहका सदस्यले एङ्करिजमा चिनियाँ समकक्षीहरूलाई भेटेका थिए।
तर त्यो बैठक कटुतापूर्ण हुन पुगेको थियो, जसमा चिनियाँहरूले अमेरिकीहरूमाथि ‘आडम्बर र ढोँग’को आरोप लगाएका थिए।
पर्यवेक्षकहरूका अनुसार अन्य कारणले पनि अलास्काको चयन महत्त्वपूर्ण छ।
अमेरिका अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)को हस्ताक्षरकर्ता होइन र त्यसको क्षेत्राधिकारलाई चिन्दैन।
आईसीसीले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अलास्का अमेरिकी क्षेत्र भएकाले कुराकानीका निम्ति त्यहाँ जाँदा उनी पक्राउ पर्ने जोखिम हुँदैन।
अघिल्ला प्रत्यक्ष वार्ता
ट्रम्प र पुटिनले गएको फ्रेब्रुअरीमा टेलिफोनमा कुराकानी गर्नुभएको थियो। त्यो सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण स्तरमा आक्रमण गरेयता दुई नेताहरूबीच भएको पहिलो प्रत्यक्ष कुराकानी थियो।
त्यसलगत्तै ट्रम्पले रुस र अमेरिकाबीच कुराकानी सुरु हुने घोषणा गर्नुभयो, जसमा विवादास्पद रूपमा युक्रेन छुटाइयो।
दुवै देशका नेताहरू एकअर्काको देशको भ्रमण गर्न सहमत हुनुभयो।
पछिल्लो पटक कुनै अमेरिकी राष्ट्रपतिले पुटिनलाई प्रत्यक्ष भेटेको भनेको सन् २०२१ मा हो। रुसले युक्रेनमा आक्रमण गर्नुभन्दा अघिकै उक्त बेला बाइडनले रुसी राष्ट्रपतिलाई स्विट्जरल्यान्डको जिनिभामा भएको एउटा शिखर सम्मेलनमा भेट्नुभएको थियो।


















