कश्मिर(भारत), ३० साउन । भारत प्रशासित कश्मीरको एउटा दुर्गम भेगमा बिहीवार अचानक आएको बाढीबाट अहिलेसम्म कम्तीमा ४५ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
घटनामा परी हताहत हुने मानिसहरूको सङ्ख्या बढ्न सक्ने बताइएको छ।
किश्तवाडको चाशोटी क्षेत्रमा आएको बाढीपछि दर्जनौँ मानिसहरू अझै हराइरहेका बताइएको छ। अधिकारीहरूले राहत तथा उद्धार कार्य जारी राखेको जानकारी दिएका छन्।
समाचार विवरणहरूमा जनाइए अनुसार त्यहाँको प्रसिद्ध मचैल माता यात्राको प्रारम्भ बिन्दुमा अचानक आएको बाढीले घर,सडक र पुलहरू बगाएको छ।
खराब मौसमबीच आपत्कालीन सेवाका टोलीहरू प्रभावित क्षेत्रसम्म पुग्न सङ्घर्षरत छन्।
ठूलो क्षतिको आशङ्का
किश्तवाड डीसी कार्यालयले बीबीसी हिन्दीलाई बताएअनुसार कम्तीमा ७० जनालाई अस्पतालमा भर्ना गरिएको छ।
जम्मू-कश्मीरका उपमुख्यमन्त्री सुरिन्दर चौधरीले भने घटनामा करिब सयजना घाइते भएको बताएका छन्।
राहत तथा उद्धार कार्यबारे भारतीय सेनाले सामाजिक सञ्जाल एक्समा भनेको छः “राहत कार्य तीव्र रूपमा जारी छ। हराइरहेका मनिसहरूको खोजी जारी छ र प्रभावित परिवारहरूसम्म चिकित्सा सहायता पुर्याइँदै छ।”
स्थानीय विधायक सुनिलकुमार शर्माले ठूलो क्षति भएको आशङ्का व्यक्त गरेका छन्। “अहिले पनि यात्रा जारी रहेकाले त्यहाँ धेरै मानिसहरूको भिडभाड थियो”, उहाँले भन्नुभयो ।
राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले जारी गरेका छुट्टाछुट्टै वक्तव्यमा पनि ठूलो क्षतिको आशङ्का गरिएको छ।
केन्द्रीय राज्यमन्त्री जीतेन्द्र सिंहले घटनास्थलसम्म पुग्न अतिरिक्त उद्धार टोलीहरूलाई कठिनाइ भइरहेको बताएका छन्।
“बाढीले सडकहरू बगाएको छ र मौसम यति प्रतिकूल छ कि हेलिकप्टरको प्रयोग गर्न सकिने अवस्था छैन”, सामाजिक सञ्जाल एक्समा उहाँले लेख्नुभएको छ।
बीबीसी संवाददाता माजिद जहाँगीरका अनुसार बिहीवार पूरै जम्मू क्षेत्रमा ठूलो पानी परिरहेको अवस्था थियो।
“रजौरी र पुंछसमेत जम्मूका कैयौँ इलाकामा स्कूल तथा कलेजहरू बन्द गराइएको थियो। स्थानीय प्रशासनले रजौरी र पुंछमा भीषण पानी पर्ने चेतावनी जारी गरेको थियो। त्यसमा पीरपन्जाल इलाका पनि समावेश थियो।”
जलवायु परिवर्तनको असर
समाचार संस्था पीटीआईको एउटा भिडिओमा राहत तथा उद्धारकर्मीहरूले ठूलाठूला ढुङ्गाहरूलाई पन्छाइरहेको देखिन्छ।
भीषण वर्षासँगै जम्मू(कश्मीरका नदी तथा जलाशयहरूमा जलसतह बढेको विवरणहरूमा जनाइएको छ।
घटनामा ज्यान गुमाउने व्यक्तिहरूका परिवारमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, जम्मू(कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह लगायतले दुःख व्यक्त गर्नुभएको छ।
जम्मू-कश्मीर न्याश्नल कन्फ्रेन्सका प्रमुख फारूक अब्दुल्लाहले जलवायु परिवर्तनको मुद्दालाई गम्भीर रूपमा लिन प्रधानमन्त्री मोदीलाई आग्रह गर्नुभएको छ।
“पहाडी क्षेत्रहरूमा यस्ता घटना सामान्य हुन थालेका छन्। समस्यासँग जुझ्नका लागि कुनै न कुनै उपायबारे विचार गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभएको छ।
हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले पनि जलवायु परिवर्तनको मुद्दाबारे चर्चा गरेका छन्।
पछिल्ला साताहरूमा उत्तरी भारतका विभिन्न क्षेत्रमा ठूलो वर्षाले बाढी तथा पहिरो निम्त्याएको छ। गत साता मात्र उत्तराखण्ड राज्यमा अचानक भीषण बाढी आएको थियो।


















