काठमाडौँ, १ भदौः यो वर्षको चार महिना (गएको वैशाख १ देखि आज भदौ १ गतेसम्म) २ हजार ८ सय ८१ विपद्जन्य घटनामा परेर १ सय ३० जनाको मृत्यु छ । ती घटनामा परेर चार महिनामा २२ जना बेपत्ता, ५ सय ९७ जना घाइते तथा ५ हजार १ सय ४१ परिवार प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थाप प्राधिकरणका प्रवक्ता, उपसचिव शान्ति महतका अनुसार मुख्यगरी आगलागीका बढी घटना भएका छन् भने चट्याङका कारण पनि धेरैको ज्यान गएको छ । प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा बाढीका २ सय २३ घटनामा २१ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् ।
पहिरोका ३ सय १८ घटनामा १६ जनाको मृत्यु, भारी वर्षाका २ सय ८७ घटनामा चार र चट्याङका २ सय ४८ घटनामा २९ जनाको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यसैगरी, सर्पदंशका ७७ घटनामा ११, आगलागीका एक हजार १२३ घटनामा १५, हावाहुरीका २७७ घटनामा आठ, जनावर आक्रमणका १७४ घटनामा १४ र लेक लागेका ४६ घटनामा १२ जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै ४४ विपद्का घटना भएकामा तीन जनाको मृत्यु भएको जनाएको छ । ती घटनामा १२ जना घाइते भएका छन् ।


















