काठमाडौँ, ७ भाद्र। नेपालको पर्वतीय पर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल पर्वतारोहण संघको कार्य समितिको लागि आज निर्वाचनमा मतदान भइरहेको छ ।
मतदान कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको दोस्रो भवन सिद्धिचरण हलमा बिहान ११ बजेदेखि सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा मलेसियाको लिङ्कन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहनुभएका पर्यटन व्यवसायी कुलबहादुर गुरुङ र अर्का पर्यटन व्यवसायी फुर गेल्जे शेर्पाको समूहबीच प्रतिस्पर्धा भइरहेको छ ।
दुवै समूहले आआफ्नो औपचारिक निर्वाचन प्रचारप्रसार कार्यक्रम बिहिवार नै सम्पन्न गरिसकेका छन् ।
‘हिमाल हाम्रो गौरव नेतृत्व हाम्रो पहिचान ,सशक्त संघ दिगो पर्वतीय पर्यटन ’, नारा लिएर चुनावी मैदानमा उत्रिएको गुरुङ समूहका अध्यक्ष कुलबहादुर गुरुड.ले हिमालका बारेमा कानुनी तथा नीतिगत व्यवस्थापन, संस्था व्यवस्थापन, पेशागत हकहित, पर्यटन प्रवद्र्धनमा सक्रीयता लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय धेरै कुरामा अनुभव, सिकाई र अध्ययन भएको बताउँदै आफ्नो समूहलाई विजयी बनाउन आग्रह गर्नुभएको छ । उहाँले पर्वतारोही, व्यवसायी र समग्र पर्वतारोहण श्रमिकको आवाज बन्दै सबै सदस्यहरुको सपना र आशाको वाहक बन्न तयार भएको बताउनुभएको छ । उहाँले आफू एनएमएको नेतृत्व गर्न हरेक पक्षबाट तयार रहेको र नेपालको पर्वतीय पर्यटनलाई विश्वमा नयाँ पहिचान दिन, हिमालको सम्मान र पर्वतारोहीको हितको लागि ऐतिहासिक परिवर्तन ल्याउन तयार रहेको पनि दावी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “म र र मेरो टिमलाई अवसर दिनुहोस । तपाईंलाई कहिल्यै निराश बनाउने छैन ।”
नेपालको पर्वतीय पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सफल गुरुङ सन् १९९२ देखि पर्यटन क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले एनएमएको महासचिव भएर काम गरिसक्नुभएको छ भने ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)मा उपाध्यक्ष समेत भइसक्नुभएको छ । विश्व पर्वतारोहण महासंघलगायत अन्य थुप्रै पर्यटन संस्थाहरूमा समेत संलग्न गुरुङको परिचय व्यवसायीको रुपमा मात्र सिमित छैन, उहाँ बौद्धिक एवं प्राज्ञिक व्यक्तित्वको रुपमा पनि परिचित हुनुहुन्छ ।
नेपालको पर्वतीय पर्यटनको विषयमा मलेसियाको लिङ्कन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहनुभएका गुरुङ शिक्षण, प्रशिक्षण तथा तालिमकर्ता पनि हुनुहुन्छ । उहाँ किवानियन र रोटरियन पनि हुनुहुन्छ । किवानिज इन्टरनेशनल नेपालको एक मात्र मास्टर ट्रेनर गुरुङले पब्लिक स्पिकिङ, मोटिभेशनल स्पिकर, इन्स्पिरेशनल स्पिकर तथा लाइफ कोचको रुपमा पनि काम गर्दै आउनुभएको छ। गुरुङले पर्वतीय पर्यटन क्षेत्रको विकासको लागि सुत्रबद्ध रुपमा एजेन्डाहरुलाई अगाडी सार्नुभएको छ ।
उहाँले विद्यमान आरोहण फोहोर धरौटी रकम फिर्ता गर्ने प्रणाली र फोहोर व्यवस्थापन सम्बन्धी वास्तविक, व्यवहारिक, प्रभावकारी र दिगो व्यवस्थापन कार्यमा जोड दिइने बताउनुभयो ।
ग्रीन गाइडलाइन कडाइका साथ पालना गर्न उचित पहल गरिने, जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय जगतलाई सन्देश दिने र जलवायु कूटनीतिमा नेपालको नेतृत्वकारी भूमिका सुनिश्चित गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहल गरिने पनि उहाँले बताउनुभयो ।
गुरुङले हिमालसँग सम्बन्धित स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिइने, अफ–सिजन र कम परिचित शिखरहरूको प्रवद्र्धन गरेर पर्यटन लाभको समान वितरण सुनिश्चित लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिने, गाईड, शेर्पा र उच्च हिमाली श्रमिकका लागि तालिम, बीमा, स्वास्थ्य, कानूनी सहयोग र सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रस्ताव तयार गरी कार्यान्वयन गर्ने एजेण्डा ल्याउनुभएको छ।
यसैगरी, हिमाल आरोहणका क्रममा दिवंगत श्रमिकका परिवारका लागि विशेष पेन्सन, अक्षयकोष, छात्रवृत्ति, व्यावसायिक तालिम र आयस्रोतमुखी सीप विकासको कार्यक्रम लागू गर्न पहल गरिने पनि उहाँले बताउनुभयो ।
पर्वतारोहण तालिम प्रतिष्ठान र अनुसन्धान केन्द्र स्थापना गरिने, मनाङ पर्वतारोहण तालिम विद्यालय, अन्नपूर्ण उद्धार केन्द्र र ककनी अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति पार्कको स्तरोन्नति गरिने गुरुड.समूहले बताइएको छ ।
उहाँले हिमाली क्षेत्रमा नयाँ तालिम तथा उद्धार केन्द्र स्थापना गर्न पहल गरिने, महिला पर्वतारोहण पहल, युवाका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति र विशेष सीप विकास कार्यक्रम सञ्चालन गरिने, प्रदेश र स्थानीय सरकार तथा स्थानीय सरोकारवालासँग सहकार्य गरेर पूर्वाधार विकास र तालिम कार्यक्रम सञ्चालन गरिने पनि बताउनुभएको छ।
उहाँले नेपालका हिमाललाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्दै प्रचार–प्रसार गर्ने र वार्षिक रुपमा अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने बताउनुभयो ।
गुरुङ समूहको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र महासचिवमा विमलकुमार नहर्कीले उम्मेदवारी दिनुभएको छ । यसैगरी, सचिवमा डिमा दिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिनुभएको छ।
यस समूहबाट सदस्यमा पुस्कर शाह, बलबहादुर सुयल, माधवप्रसाद पाण्डे, हरिगोपाल प्रधान, सुदांश लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा, पासाङ शेर्पा र अशोककुमार तामाङले उम्मेदवारी दिनुभएको छ ।
फुरगेल्जे समूहबाट को को
नेपाल पर्वतारोहण संघ(एनएमए)को नयाँ नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएको फुर गेल्जे शेर्पा समूहले पनि आफ्नो प्रचारप्रसार कार्यक्रमलाई बिहिवार राति नै समापन गरिएको जनाएको छ । शेर्पा समूहले बिहिवार काठमाडौंको होटल ह्यातमा रात्रिभोजसहितको कार्यक्रम आयोजना गरेर आफ्नो प्रचारप्रसार कार्यक्रम समापन गरेको थियो ।
‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धका लागि आफ्नो समूहले उम्मेद्वारी दिएको बताउँदै अध्यक्षका उम्मेद्वार शेर्पाले आफ्नो समूहले चुनाव जितेमा अन्तर्राष्ट्रिय स्तरको आरोहण तालिम केन्द्र सञ्चालन गर्ने, आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्ने, जलवायु परिवर्तनबाट प्रभावित हिमाली क्षेत्रमा संरक्षण कार्यक्रम सञ्चालन गर्ने लागायत ३० बुँदे योजना अगाडि सार्नुभएको छ ।
शेर्पा समूहको बरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्ष काजी ९स्पीड काजी० शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महाससचिव राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा, कोषाध्यक्षमा निमानुर्बु शेर्पा रहेका छन् । सदस्यहरुमा मुलाल गुरुङ, माधवकुमार धमला, डोल्मा लामा, निशा भोटे, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा र देवेन्द्र डंगोल रहेका रहनुभएको छ ।
एनएमएको निर्वाचनमा सगरमाथा आरोही शिव सापकोटाले महासचिवमा उम्मेद्वारी दिनुभएको छ।


















