काठमाडौं, ७ भाद्र । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले भारत र चीनले ब्यापार गर्ने सहमतिमा पारिएको नेपाली भूभागको लिपुलेक पासका विषयमा संघाई कोअपरेशन अर्गनाइजेशनको समिटमा प्रधानमन्त्री के.पी.शर्मा ओलीले चिनिया राष्ट्रपति सि जिन्पिड. र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुरा उठाउनुपर्ने बताउनुभएको छ ।
फ्राइन्ड्स अन द क्लाउड्ः प्लाटफर्म अफ इन्फ्ल्युइन्सरर्स नेपालद्धारा शुक्रवार राजधानीमा आयोजित नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
“पहिले त्रिपक्षीय वातावरण बनाउनु पर्छ । पछि चीन र भारतसंग अलग अलग कुरा गर्नुपर्छ,” उहाँले भन्नुभयो । २०७२ सालमा भारत र चीनले बेइजिड.मा नेपालको सहमति र उपस्थिति बिनै लिपुलेकको विषयमा यस्तै संझौता गरेपछि नेपालले कुटनीतिक नोट पठाएको उल्लेख गर्दै त्यसपछि उच्चस्तरीय चिनिया प्रतिनिधि मण्डलसंग पनि यस बिषयमा आफूले कुरा गरेको तात्कालीन परराष्ट्रमन्त्री पाण्डेले बताउनुभयो ।
उहाँले सांघाई कोअपरेशन अर्गनाइजेशनको आगामी समिटलाई नेपालले सदुपयोग गर्नुपर्ने बताउनुभयो । सांघाई को-अपरेशन समिट यही अगष्ट ३१ देखि सेप्टेम्बर १ सम्म चीनको तियानजिनमा हुँदैछ ।प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सो बैठकमा जाने निधो भइसकेको छ ।
पूर्व परराष्ट्रमन्त्री पाण्डेले यो समस्यालाई सडकबाट होइन कुटनीतिक माध्यमबाट नै समाधान गर्नुपर्ने पनि बताउनुभयो । यो विषय देशको सार्वभौमिकतासंग संबन्धित भएकोले देशको आकार, जनसंख्या र अन्य पक्षको कुराले हैन,सार्वभौमसत्ता सम्पन्न मुलुकको प्रधानमन्त्रीको हिसाबले कुरा गर्ने हिम्मत र हैसियत प्रधानमन्त्री ओलीले राख्नुहुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
चीनको राजदूत समेत रहिसक्नुभएका पूर्वपरराष्ट्र मन्त्री पाण्डेले चीनले नेपालप्रति सधैँ सदासय राख्ने गरेको पनि बताउनुभयो । २०१६ मा जननिर्वाचित सरकारका प्रधानमन्त्री वीपी कोइरालाको चीन भ्रमणमा प्रधानमन्त्री चाउएन लाइसंग सगरमाथाक्षेत्रको सीमाका सम्बन्धमा विवाद बाँकी रहेर राष्ट्रपति माओत्सेतुड.समक्ष पुगेपछि उहाँले नेपालको चित्त नदुख्ने गरेर सीमा विवादको समाधान गर्न निर्देशन दिनुभएको स्मरण गर्दै मन्त्री पाण्डेले भन्नुभयो,”पश्चिमतिर पनि सीमामा विवाद छ भनेको भए, त्यो नेपालको हित अनुकूल हुने गरी समाधान गर्न माओले नै निर्देशन दिनुहुन्थ्यो । त्यतिखेर यो विवाद थिएन ।”
पूर्वमन्त्री पाण्डेले विज्ञान र प्रविधिको विकासबाट चिनले विकासमा छलाड. मारेको उल्लेख गर्दै नेपालले पनि आर्थिक समृद्धि र विकास हासिल गर्न त्यसलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाललाई बस्न लायक बनाउने जिम्मेवारी नेपालीकै भएकोले देशको समुन्नतिका लागि स्वदेश र विदेशमा रहेका सबै नेपालीले योगदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अर्का वक्ता त्रिभुवन विश्वविद्यालयका इतिहासका प्राध्यापक डा.सुरेन्द्र के.सी.ले नेपालको उत्तरी छिमेकीसंगको सम्बन्ध दक्षिणतिरको छिमेकीसंगको भन्दापनि पुरानो भएको बताउनुभयो । ई.सं. ६२३ देखि ६४७ लिच्छवी राजा उदयदेव तिब्बत पलायनको घट्नाले नै नेपालको उत्तरतिरको सम्बन्ध राम्रो रहेको पुष्टि गरेको उहाँले बताउनुभयो । उहाँले नेपाल र तिब्बतबीचको सम्बन्ध युद्ध र शान्तिको उतारचढावबाट गुज्रेको उल्लेख गर्दै चीनसंग भने मैत्रीपूर्ण नै सम्बन्ध रहेको उल्लेख गर्नुभयो । नेपालले संयुक्त राष्ट्र संघको सदस्यता लिंदा चीनले सघाएको स्मरण गर्दै उहाँले पृथ्वी राजमार्गको निर्माण, उद्योग र कलकारखानाको स्थापनादेखि संचार, सम्मेलन केन्द्र,सडक,सिंचाई,विद्युत परियोजना जस्ता पूर्वाधार निर्माणमा चीनले खुला हृदयले सघाएको बताउनुभयो ।
कार्यक्रममा चीनबाट भर्खर पीएचडी गरेर फर्किनुभएकी डा. मनिता खुसीले चीनको शिक्षा पद्धतिको बारेमा प्रकाश पार्नुभएको थियो ।
फ्राइन्ड्स अन द क्लाउड्ः प्लाटफर्म अफ इन्फ्ल्युइन्सरर्स नेपालका अध्यक्ष शोभित उप्रेतीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा देशका नीति निर्माता, पूर्व राजदूतहरु, सांसदहरु,वकिल,पत्रकार, व्यापारी,उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।


















