Prakash Adhikari August 25, 2025

काठमाडौँ, ९ भाद्र । प्रधानसेनापति अशोकराज सिग्देलले थाइल्याण्डको हुआ हिनमा आयोजना हुने रक्षा प्रमुख सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

शाही थाई सशस्त्र बलको सहकार्यमा अमेरिकी सेनाको इण्डो–प्यासिफिक कमाण्डद्वारा यही भदौ १० देखि १२ गतेसम्म हुने उक्त सम्मेलनमा भाग लिन उहाँ  त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विसं २०५६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको उक्त सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तरराष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोचलगायत समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुने निर्देशनालयले जनाएको छ ।

सहभागी राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध विस्तार भई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई सकारात्मक योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रधानसेनापति सिग्देललाई थाइल्याण्ड प्रस्थान गर्नुपूर्व आइतबार नेपाली सेनाको एक टुकडीले जङ्गी अड्डामा सम्मान गारत अर्पण गरेको पनि निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मलकुमार थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ ।

Share Now