Prakash Adhikari August 25, 2025

वीरगञ्ज (पर्सा), ९ भदौ : पर्साको बीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा फैलिएको हैजा र बिरामीहरुको अवस्था बुझन संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल सोमबार वीरगञ्ज आइपुग्नुभएको छ । उहाँले विभिन्न राजनीतिक तथा सामाजिक कार्यकर्तासंग अवस्थाको जानकारी लिनुका अतिरिक्त वीरगञ्जको नारायणी अस्पतालमा पुगेर झाडापखाला र हैजाबाट प्रभावित बिरामीको अवस्थाबारे जानकारी लिनु भएको छ । उहाँले तीन वटै तहका सरकार समन्वयका साथ जुटेकोले स्थिति छिटै नियन्त्रणमा आउने आश्वासन दिनुभएको छ ।

समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिनुभयो । “आइतबार बेलुका ८ः०० बजेसम्म हैजाका सङ्क्रमित ७१ जना भेटिएका थिए”, उहाँले भन्नुभयो, “सोमबार बिहानसम्म थप आठ जना हैजाका सङ्क्रमित भेट्टिएका छन् ।”

“हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन”, उहाँले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतबारदेखि यहाँका पानीको परीक्षणलगायतका गरिरहनुभएको छ । सम्भवत् आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखेका छौँ ।”

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएको जानकारी दिनुभयो । “नारायणी अस्पतालमा हैजाको उपचारको लागि श्यया र जनशक्ति दुवैको अभाव देखिएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक पर्ने सहयोग आइपुगिसकेको छैन । अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचारका सामग्री आइपुगिसकेको छैन ।”

प्रवक्ता सिंहले हैजाको महामारीको साथसाथै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्नै नसकिने प्रकृतिको रहेको गुनासो गर्नुभयो । “हामीले यो महामारीबाहेक अन्य खालका विभिन्न महामारीसँग पनि लडिरहेका छौँ । सर्पदंशको बिगबिगी छ । ज्वरो, प्यारालाइसिसलगायत बिरामीको चाप भए पनि जनशक्ति पर्याप्त नहुँदा भने व्यवस्थापन गर्न मुस्किल भइरहेको छ”, उहाँले भन्नुभयो, “भएका जनशक्तिले अत्यधिक काम गर्न परिरहेको छ । तर अस्पतालमा अहिले आन्तरिक र बाह्य दुवै खालको सहयोग छैन ।”

प्रवक्ता सिंहले वीरगञ्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवत् आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने जानकारी दिनुभयो । नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कलेरा सङ्क्रमित देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा नौ जना, भवानी अस्पतालमा तीन जना कलेरा सङ्क्रमित बिरामी भेट्टिएका हुन् ।

त्यस्तैगरी वीरगञ्ज हेल्थ केयर, अली अर्थाे अस्तताल, मङ्गलम प्याथोलोजीमा दुई–दुई जनाको दरले आठ जना हैजा कोलेरा सङ्क्रमित बिरामी भेट्टिएका छन् । थप आठ जना बिरामी सोमबार विहानीको समयमा थपिएको सोको विवरण कुन अस्पतालमा परीक्षण गरिएको खुल्न सकेको छैन ।

Share Now