कर्सी(उज्वेकिस्तान), १३ भाद्र । उज्वेकिस्तानको कर्सी सहरमा भइरहेको एएफसी महिला च्याम्पियन्स लिग अन्तरगतको दोस्रो खेलमा पनि नेपालको एएफसी फुटबल क्लब पराजित हुन पुगेको छ ।
बिहिबार साँझ भएको खेलमा थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले एपिएफलाई ४-० ले हरायो । स्कोलर्सको जितमा सबै गोल कानियानात क्षतबुक्तरले गरिन्।
समूह चरणमा यो नेपालको लगातार दोस्रो हार हो। चार देशका क्लब सम्मिलित प्रतियोगितामा लगातारको दोस्रो हारले एपीएफ क्लबलाई समूह चरणबाटै बिदा गर्ने स्थितिमा पुर्याएको छ। नेपालले अब एक खेल खेल्न बाँकी छ ।
उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपीएफकी रश्मिकुमारी घिसिङले पाएको दुई उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकिनन्।
हिजो साँझको खेलमा ३३ औं मिनेटमा कलेज अफ एसियन स्कोलर्सले अग्रता बनायो। क्लोज रेन्जबाट कानियानातले गोल गरिन्।
पहिलो हाफको इन्ज्युरी समयमा कानियानातले अग्रता दुगुना गरिन्। दुई डिफेन्डरलाई बिट गर्दै किपर एन्जिला तुम्बाप्पो सुब्बालाई चिप गरेको बल गोलमा परिणत भयो। यो गोलमा स्कोलर्सले पहिलो हाफमा २-० को अग्रता बनायो।
एपीएफले दोस्रो हाफमा पनि सुधारिएको प्रदर्शन गर्न सकेन । ५५ औं मिनेटमा कानियानातले ह्याट्रिक पूरा गरिन्। गीता रानाले क्लियर गर्न नसकेको बलमा किपर एन्जिलासँगको वान भर्सेज वानमा कानियानातले सहजै गोल गरिन्।
खेलको ६३ औं मिनेटमा तामोवान रक्षाफाप्दीको क्रसमा किपर एन्जिलाले रोके पनि रिबाउन्डमा कानियानातले गोल गरिन्।
नेपालको लिग विजेता एपीएफ आजको खेलमा सबै पक्षमा चुक्यो। कमजोर डिफेन्स हारको प्रमुख कारण बन्यो। मिड र फरर्वाडलाइन पनि निराशाजनक रहयो। ३ खेलमा एपीएफले ७ गोल खाँदा गोल गर्न सकेको छैन।
यसअघि पहिलो खेलमा एपीएफ घरेलुु टोली एफसी नासाफसँग ३-० ले हारेको थियो। एपिएफले यो छनोट दोस्रो पटक खेलेको हो। अहिलेसम्म गोल गर्न भने सकेको छैन्।
अब समूह चरणको आफ्नो अन्तिम खेल एपिएफले आइतवार साउदी अरेबियाको अल नासारसँग खेल्नेछ। समूहको विजेता अघिल्लो चरणमा पुग्नेछ।


















