Prakash Adhikari August 31, 2025

काठमाडौं, १५ भाद्र । कर्णाली र सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले समस्त नेपालीहरुमा शुभकामना दिनुभएको छ ।

आफ्नो शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले गौरापर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

गौरापर्व, २०८२ को शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले यस्ता पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी परिवार तथा समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न सहयोग गर्ने उल्लेख गर्नुभएको छ । उहाँले गौरापर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका मुलतः पश्चिमी क्षेत्रमा विशेष रूपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलले स्मरण गर्नुभएको छ ।

यस पर्वमा शिव र पार्वती (गौरा) को पूजाअर्चना गरी व्रत बस्ने गरिन्छ, जसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कूलदेवता प्रसन्न भई सुख, शान्ति, दीर्घायु र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । यस पर्वमा पाँच वा सोभन्दा बढी प्रकारका गहुँ, धान, केराउ, मास र गहतजस्ता अन्नबाट बनेको ‘बिरुडा’ अर्पण गरी प्रसादका रूपमा ग्रहण गरेर मानवीय जीवन, कृषि संस्कृति र पारिवारिक समृद्धिको कामना गरिन्छ ।

“यस पर्वका अवसरमा स्थानीयहरू गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एकअर्काका दुःख, सुख बाँड्ने गर्दछन् । यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पतिपत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकाले यसलाई धुमधामपूर्वक मनाउने चलन रहिआएको देखिन्छ”, राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

हाम्रो समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले गौरापर्वको महत्वका बारेमा प्रष्ट पार्दै भन्नुभएको छ, “यस्ता पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख, शान्तिका लागि सहयोग पुर्याउँदै आएका छन् भन्ने मलाई लाग्दछ ।”

गौरापर्व सामाजिक पुनर्मिलनको अवसर : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरापर्व सामाजिक पुनर्मिलनको अवसर भएको बताउनुभएको छ ।

गौरापर्व २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले गौरापर्वले परिवार, आफन्तजन र समुदायबीचको सम्बन्ध पुनः सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । गौरी–महेश्वरको आराधना गरिने गौरापर्व धार्मिक आस्था, सांस्कृतिक सम्पदा र सामाजिक एकताको अनुपम प्रतीक हो । यस पर्वमा पाँच प्रकारका अन्नको मिश्रण ‘बिरुडा’ प्रसादस्वरुप ग्रहण गर्ने परम्परा रहिआएको छ । यस अवसरमा देउडा, धमारीजस्ता लोकनृत्य तथा गीतमार्फत महिला–पुरुष छुट्टाछुट्टै गोलबद्ध भई सामूहिक उत्सवका रूपमा मनाउने चलनले गौरापर्वलाई थप जीवन्त बनाएको छ ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “हिन्दू नारीद्वारा सुसौभाग्य, शुद्धता, सुख–शान्ति तथा समृद्धिको कामनासहित मनाइने यो पर्व एक सुसंस्कृत अनुष्ठानमात्र नभई भ्रातृत्व, सहअस्तित्व र मातृभूमिप्रतिको गहिरो प्रेमको अभिव्यक्ति पनि हो, विशेषतः विदेशमा रहेकाहरूले यस पर्वका अवसरमा आफ्नो थातथलोमा फर्केर पूजाआराधना गर्नु माटोप्रतिको उनीहरूको निष्ठा र भावनात्मक सम्बन्धको सशक्त प्रमाण हो ।”

गौरापर्वले जात, वर्ग, लिङ्ग वा हैसियतको भेदभावबिना सबैले एउटै वृत्तमा हातेमालो गर्दै पर्वको उल्लासमा सहभागी हुने परम्पराले सामाजिक समता, सहिष्णुता र सहअस्तित्वको सन्देश फैलाउने उहाँको भनाइ छ । “यस पर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा भावी पुस्तामा यसको हस्तान्तरणको आवश्यकतालाई पनि स्मरण गराउँदछ”, उपराष्ट्रपति यादवको सन्देशमा भनिएको छ ।

उपराष्ट्रपति यादवले चाडपर्वलाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी, लोककल्याण र सामाजिक समृद्धिको माध्यमका रूपमा प्रयोग गर्न सकियो भने पर्वहरू राष्ट्र निर्माणका आधार बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “गौरापर्वले नेपाली राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई अझ सुदृढ बनाउने विश्वासका साथ पुनः सम्पूर्ण नेपाली समुदायमा यो पावन पर्वका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
–––

Share Now