जलेश्वर (महोत्तरी), १५ भदौः मधेसको प्राचीन मिथिलाञ्चल क्षेत्रमा आज राधाष्टमी उत्सव मनाइँदैछ । द्वापरयुगमा भदौ शुक्लपक्ष अष्टमीका दिन भारतको उत्तरप्रदेशमा पर्ने गोकुलमा लक्ष्मी अवतारका रूपमा राधाको जन्म भएको विश्वासमा यो उत्सव मनाउने गरिएको हो ।
गोकुलका ग्वाला वृषभानुकी पुत्रीका रूपमा राधाको जन्म भएको हिन्दू जनविश्वास छ । ठिक १५ दिनअघि भदौ कृष्णपक्षको अष्टमी तिथिका दिन मथुरा कारागारमा जन्म भएर रातारात गोकुल पु¥याइनुभएका श्रीकृष्ण र राधा सँगसँगै खेल्ने बालसखा भएका कृष्णचरित्र र श्रीमद् भागवतमा वर्णन गरिएको लक्ष्मीनारायण लक्ष्मीनारायण मठ मटिहानीका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णले जानकारी दिनुभयो ।
राधा श्रीकृष्णकी अत्यन्त प्रिय छिन् । राधा लक्ष्मी अवतार र श्रीकृष्ण भगवान् विष्णुका आठौँ अवतार मानिन्छन् । गोकुलमा राधा र श्रीकृष्णको प्रीति अत्यन्त गाढा रहेको श्रीमद् भागवत महापुराणमा उल्लेख छ । पछि गोकुलबाट श्रीकृष्ण निस्केर द्वारका बस्न जानुभएको थियो ।
प्र्रेम र समर्पण भावले सधैँ श्रीकृष्ण भज्नुभएकी राधा निःस्वार्थ प्रेमको पूजकका रूपमा हिन्दूबीच पूजित हुनुभएकी डा वैष्णले बताउनुभयो । उहाँका अनुसार आज राधाजीको जन्म भएको दिनको सम्झनामा मिथिलाञ्चलका कैयौँ ठाउँमा राधाष्टमी मेला उत्सव आयोजना गरिएका छन् ।
यहाँका राधाकृष्ण मन्दिरमा बिहानैदेखि धार्मिक अनुष्ठान आयोजना गरिएको छ । राधा हिन्दू मान्यतामा आराध्य देवी भएकी हुँदा यहाँ उत्सवका रूपमा राधाष्टमी मनाउने गरिएको लक्ष्मीनारायण मठका उत्तराधिकारी डा वैष्णवले बताउनुभयो । आज यहाँ सत्सङ्ग आयोजना गरिएको छ ।
राधाजी जन्मका पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान आज मिथिलाञ्चल क्षेत्रमा गुञ्जीरहेका उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार पर्वका अवसरमा आज साँझ विशेष धार्मिक अनुष्ठान आयोजना गरिँदै छ ।
भदैया रैब पर्व मनाइँदै
पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख, समृद्धिको कामना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज महिलाहरू भदैया रैब पर्व मनाइरहेका छन् ।
मिथिला क्षेत्रका गाउँगाउँमा आज बिहानदेखि बर्तालु महिलाहरूले घरघरमा ठेकुवा (सक्खर हालेर बनाइएको एक प्रकारको पकवान) पकाएर, केरा, मकै, काँक्रो, स्याउलगायत फलफूल, अक्षता, सुपारी र पानसहितका वस्तु लिएर रैब पर्व मनाउन सुरु गरेका छन् ।
आज बर्तालु महिलाहरु फलफूल, मीठाइ र पकवानसहितका पूजा सामग्रीसहित नजिकैको पोखरी, तलाउ वा नदीमा गइ सूर्यदेवतालाई अघ्र्य चढाउँदै पर्व मनाउने जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो ।
रैब सूर्य देवताकै पूजा उपासना गरी मनाइने पर्व हो । भदौमा मनाइने भएकाले यसलाई भदैया रैब पर्व पनि भनिन्छ । पोखरी, तलाउ वा नदीमा स्नान गरी, सूर्य देवतालाई पूजा सामग्रीको अघ्र्य दिएर बर्तालुहरू आ–आफ्ना घरमा जान्छन् भने घर पुगेर आँगन वा पिँढीमा फेरि नेउज हाल्ने गर्दछन् ।
नेउज हाल्ने क्रममा बर्तालुहरू भुइँलाई पानी र गङ्गाजलले लिपेर, केराको पातमाथि सक्खर हालेर बनाइएको खिर र केरा चढाउने गर्दछन् । यस क्रममा प्रत्येक परिवारबाट कति जनाले रैब पर्व गर्ने हो, त्यसका लागि प्रत्येक एक जनाका लागि दुईवटा नेउज (दुई स्थानमा प्रसाद चढाउने) हाल्ने गनुपर्छ ।
पर्वमा अरुका लागि पनि अरुले नेउज (प्रसाद चढाइदिने) हाल्न सक्छन् । आफ्नो परिवारका कुनै सदस्य बाहिर रहेको वा घरमा आउन नसक्ने अवस्थामा रहेको बेला अरुको नाममा अरूले नेउज हाल्ने गर्दछन् ।
नेउज हालिसकेपछि (प्रसाद चढाइसकेपछि) बर्तालुहरूले फलफूल ग्रहण गर्न सक्छन् । आज राति उनीहरूले नुनबिनाको खानेकुरा (फलफूल, खिर, केरा, स्याउ)लगायत वस्तु नै खाएर बस्ने चलन छ ।
त्यसैगरी अब आजैदेखि मिथिलाञ्चलका प्रत्येक गाउँठाउँका प्रायःजसो महिलाले प्रत्येक आइतबार रैब पर्वका लागि दिनभरि उपवास बस्ने र बेलुका नुनबिनाको खानेकुरा खाएर छ महिनासम्म रैब पर्व मनाउनेछन् । कोहीकोहीले भने महिनाको एउटा आइतबारको दिनमात्र उपवास बसेर पनि यस पर्व मनाउने चलन रहेको जलेश्वर–८ की बर्तालु रेणु देवीले बताउनुभयो ।
मिथिला क्षेत्रमा परम्परागत रूपमै यसपर्व सुख, समृद्धि र विशेषगरी आरोग्यताका लागि मनाउने परम्परा रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव राय बताउनुहुन्छ ।


















