Prakash Adhikari August 31, 2025

काठमाडौँ, १५ भदौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पठनसंस्कृति विकास गर्न पुस्तकालय उपयोगी भएका बताउँदै स्थानीय, प्रदेश र सङ्घ सरकार र समुदाय मिलेर पुस्तकालयलाई बलियो कानुनी आधार, बजेट र प्रविधिसहित सक्षम बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

अठारौँ पुस्तकालय दिवसका अवसरमा पुस्तकालय दिवस मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले देशका पुस्तकालय शिक्षा, अनुसन्धान, पठनसंस्कृति र सामाजिक रूपान्तरणका केन्द्र भएका बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले भन्नुभयो, “सहर र ग्रामीण क्षेत्रबीचको असमानता र सीमित पहुँचले ज्ञानको लोकतान्त्रिक वितरणमा ठूलो अन्तर सिर्जना गरेको छ, त्यसैले पुस्तकालयलाई केबल किताब भण्डारण गर्ने ठाउँ होइन, समाजको समग्र विकासका केन्द्रका रूपमा पुनःपरिभाषित गर्नुपर्छ ।”

“आजको डिजिटल युगमा पनि पुस्तकालयको महत्त्व कम भएको छैन, यसले डिजिटल पहुँच, ई–पुस्तक, अनुसन्धान सामग्री र सुरक्षित अध्ययन वातावरण प्रदान गर्दै नागरिकलाई सशक्त बनाइरहेको छ, युवाका लागि पुस्तकालय अनुसन्धान, नवप्रवर्तन र सीप विकासको प्रमुख स्थल बनेका छन्, विशेषगरी ग्रामीण क्षेत्रका पुस्तकालयले कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र मोबाइल पुस्तकालयजस्ता सुविधाबाट सूचनामा पहुँचको खाडल घटाइरहेका छन्”, उहाँले भन्नुभयो ।

पुस्तकालय अभियन्ता इन्दिरा दलीले पुस्तकालय ऐन बनाएर स्थानीय तहदेखि नै सार्वजनिक पुस्तकालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । पठन संस्कृतिको विकास गर्न प्रत्येक पुस्तकालयमा बालबालिका कक्षको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा ज्ञानुदय पुस्तकालय तथा सूचना केन्द्र, पुस्तकालयकर्मी जगदिशचन्द्र अर्याल र पुस्तकालय अभियानकर्मी गृहमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।
–––

Share Now