Prakash Adhikari September 8, 2025

काठमाडौं, २३ भाद्र । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।

मृतकको सनाखत भएको छैन ।

रबरको गोली लागेर फोटो पत्रकार टी भी पत्रकार घाइते

नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् ।

नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो ।

नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो ।

प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताउनुभएको छ ।

माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड अनियन्त्रित बन्दै नयाँबानेश्वरको संसद भवन भित्रै प्रवेश गरेको थियो ।

उनीहरुलाई रोक्ने प्रहरीको प्रयास असफल भएको थियो ।

बानेश्वरमा सेना

जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन भएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो ।

जेनजीहरुको प्रदर्शनमा संसद भवनभित्र समेत प्रदर्शनकारी छिरेका थिए ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् ।

सिंहदरबार,लैनचौर, नारायणहिटी दरबार संग्रहालय र शितल निवास क्षेत्रमा पनि कर्फ्यु

शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लगाएको प्रशासनले पछि त्यसलाई बिस्तार गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो ।

आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।

Share Now