काठमाडौँ, २३ भाद्र । अभिव्यक्ति र व्यवसाय विस्तारको माध्यम बन्दै आएका लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सरकारले एक्कासी बन्द गरेपछि आक्रोशित नवयुवापुस्ता जेन जीले आयोजना गरेको राजधानीको पहिलो स्वःस्फूर्त विरोध प्रदर्शन अनियन्त्रित हुँदै संसद भवन आक्रमणतर्फ बढेपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौँका निश्चित क्षेत्रमा दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।
आज माइतीघरबाट सुरु भएको जेनजीको प्रदर्शन बबरमहल, बिजुलीबजार, होटल एभरेष्ट हुँदै संसदभवनतर्फ बढेको थियो । प्रदर्शनकारीहरुले संसदभवन घेरा हालेर पर्खाल नाघेर संसद भवन छिरेपछि स्थानीय प्रशासनले शान्ति र सुव्यवस्था कायम राख्न संसदभवन क्षेत्रलाई सुरक्षित राख्न कर
फ्यू आदेश जारी गरेको हो ।
जेनजीहरू प्रहरीको घेरा तोड्दै संसदभवन क्षेत्र पुगे । गेटबाट माथि चढेर उनीहरु संसद् भवनभित्र प्रवेश गरेका हुन्।
प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ।
प्रहरी अश्रुग्याँस र लाठी प्रहार
सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।
माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको थियो ।
संसदभवन छेउको प्रहरी ब्यारिकेड तोडेर तिनकुनेतर्फबाट अघि बढेको जेन जी टोली संसद भवनको गेट पुगेपछि केही प्रदर्शनकारीहरु गेट नाघेर संसदभवन परिसरमा छिरेका थिए ।
सरकारले समय सीमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनमा सहभागी युवाहरूले सरकार बोल्न दे, देश लुट्न पाइँदैन, भ्रष्टाचार अन्त्य लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । त्यस्तै युवाहरूले देशका वीरगन्ज, पोखरा लगायत अन्य सहरहरूमा पनि प्रदर्शन गरेका छन् ।




















