भरतपुर(चितवन), ७ असोज । नारायण–मुग्लिन सडकखण्डअन्तरगतको तुइनखोलामा अहिलेसम्मको ठूलो पहिरो खसेको छ । सो पहिरो हटाउन दुई दिन लाग्ने देखिएको छ ।
मंगलबार दिउँसो सडकमाथिबाट खसेको ठूलो सुख्खा पहिरोका कारण त्यस सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, धेरै ठूलो पहिरो भएकाले बाटो खुलाउन दुई दिन लाग्नेछ । सुख्खा पहिरोमा कुनै मानवीय क्षति भने नभएको उहाँको भनाइ छ ।
विभागले पनि उक्त सडकखण्डबाहेक वैकल्पिक रुट अपनाएर यात्रा गर्न आग्रह गरेको छ ।
तुइनखोलामा यसअघि पनि पटक पटक पहिरो गए पनि पन्छाउँदै यातायात सुचारु गरिएको थियो । पहिरो नहट्दासम्म राजमार्गमा यातायात अवरुद्ध भइ यात्रुहरुको बिचल्ली हुने देखिएको छ ।


















