काठमाण्डौ, ७ असोज । साताको तेस्रो कारोबार दिनमा पनि नेपालको शेयर बजारले लगातार दोस्रो दिन उकाला यात्रा तय गरेको छ ।
आज धितोपत्र बजार परिसूचक सोमबारको तुलनामा ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९९ प्रतिशत अर्थात ९.०८ अंक बढेर ४६४.३६ विन्दुमा पुगेको छ । त्यस्तै फ्लोट इण्डेक्स ३.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०१ अंक बढेको छ।
यो दिन नेप्सेमा कारोबार भएका मध्ये २ सय ३८ स्क्रिप्टको शेयर मूल्य बढेको छ भने १४ वटाको घटेको छ ।
आज बजारमा ३ सय २८ वटा स्क्रिप्टको १ करोड १३ लाख ५३ हजार १ सय ४८ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब २९ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत कम्पनीको १३ वटै समूहमा हरियाली छायो । आज निर्जीवन बीमा समूह सर्वाधिक बढ्यो । यो समूह आज ३.४८ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ समूह १.३८ प्रतिशत, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल २.७८, हाईड्रो ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, लघुवित्त २.५४, म्युचुअल फण्ड ०.६३, अन्य २.५१ र व्यापार समूह १.८३ प्रतिशतले बढ्यो ।
मंगलबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३८ करोड ६८ लाख बढीको कारोबार भयो । युनिभर्सल पावरको पनि आज १८ करोड ३० लाख, हिमालयन डिस्ट्रीलरीको १८ करोड १६ लाख,शिवम् सिमेन्टको १६ करोड ६४ लाख र हिमालयन रि इन्स्योरेन्सका १५ करोड ७२ लाख बढीको सेयर कारोबार भयो ।
आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाईड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी, एशियन हाईड्रोपावर र हिमस्टार उर्जाको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
कालिका पावरको सेयरमूल्य पनि आज ९.८४ प्रतिशत, सयपत्री हाईड्रोको ९.८३ र महिला लघुवित्तको सेयरमूल्य ९.६० प्रतिशतले बढ्यो ।
यो दिन प्रभु स्माट फण्डको मूल्य सर्वाधिक अर्थात ४.३० प्रतिशतले घट्यो ।


















