Prakash Adhikari September 25, 2025

काठमाडौं, ९ असोज । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार जलाइन्छ भन्नेको पनि खोजी गर्न सरकारसमक्ष आग्रह गर्नुभएको छ ।

ओलीले बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीसँगको छलफलका क्रममा यस्तो बताउनुभएको हो।

उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)तर्फ इंकित गर्दै यसअघि कसकसले सिंहदरबार जलाउँछु भन्दै हिँडेको भन्ने आफूलाई थाहा भएको समेत बताउनुभयो।

‘म भन्न चाहन्नँ, अलि अगाडिदेखि कस कसले केके बोलेका थिए भन्ने थाहा छ । सिंहदरबार जलाइन्छ, बालुवाटार घेरिन्छ, याँ गरिन्छ, त्याँ गरिन्छ, उत्पात मच्चाइन्छ भनेर भाषण गरिरहेका थिए । सरकारले यसको खोजी गरोस्,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले उक्त आन्दोलनपछि आफू प्रहारको निशानामा परेको पनि स्वीकार गर्नुभयो।

‘अहिले पनि उत्तेजनात्मक, अराजनीतिक, प्रतिशोधात्मक अभिव्यक्ति भइरहेका छन् । हाम्रो सामाजिक चरित्र, मूल्यमान्यता र व्यवहार नै यही हो त ? हैन भने यो कहाँ गइरहेको छ ? कहाँ गएर रोकिन्छ ? समाजमा शान्ति हुन पर्दैन, शान्ति हुन नपर्ने नेपाल मात्रै हो ?,’ ओलीले भन्नुभयो, ‘हामी नेपालीहरू देश जोगाउनु छ, देशमा सुशासन कायम गर्नुछ, देशलाई अगाडि बढाउनुछ । मलाई राम्ररी थाहा छ, म माथि प्रहारको निशाना केन्द्रित गरिएको छ । मेरो अपराध के हो त ? भ्रष्टाचार नगर्नु अपराध भयो, मैले भ्रष्टाचार गरिनँ । गर्दिनँ, गरेको छैन र गर्दिनँ पनि । यही अपराध भयो ।’

उहाँले देशलाई विकासको खाका तयार पारेर अघि बढाएको र अशान्ति मच्चाउदै हिंसा भड्काउने तत्वहरूलाई मूल धारमा ल्याएको दाबी समेत गर्नुभयो ।

‘मैले विकासको एउटा खाका कोरेर अघि बढाएँ, नेतृत्व गर्ने कुरामा अघि बढेँ । समाजमा अशान्ति, सुव्यवस्था कायम गर्न सबै हिंसाको वकालत गरिरहेका शक्तिहरूलाई हिंसा छोडाएर राष्ट्रिय एकताको मूल धारमा ल्याएँ । तैपनि मलाई प्रहारको निशाना बनाएर यो हिंसा मच्चाउनुपर्ने आवश्यक थिएन,’ उहाँले भन्नुभयो  ।

 

Share Now