Prakash Adhikari October 1, 2025

 

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १५ असोज । अमेरिकी संसद् कङ्ग्रेसको माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास असफल भएपछि अमेरिकामा गभर्न्मन्ट शटडाउनको स्थिति उत्पन्न भएको छ।

यसको अर्थ अब त्यहाँ सरकारका धेरै कामहरू अस्थायी रूपमा स्थगित हुने छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन र विपक्षी डेमोक्र्याट पार्टीले यस्तो स्थिति आउनुका पछाडि एकअर्कालाई दोष लगाएका छन्।

सेप्टेम्बर ३० को मध्यरातदेखि औपचारिक रूपमा शटडाउन सुरु भएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको वेबसाइटको होमपेजको सबैभन्दा माथि शटडाउन सुरु भएको अवधि गणना गर्ने घडी राखिएको छ ।

सन् २०१८-१९ पछि पहिलो पटक उत्पन्न यस्तो स्थितिमा अब सरकारले सामूहिक रूपमा तथा फिर्ता नहुने गरी कर्मचारी निकाला गर्न सक्ने राष्ट्रपति ट्रम्पले चेतावनी दिनुभएको छ ।

सन् २०१८ को डिसेम्बरमा सुरु भई ३५ दिनसम्म चलेको शटडाउनअमेरिकी इतिहासको सबैभन्दा लामो हो।

सम्भाव्य प्रभाव

शटडाउनको अवस्थामा सीमा सुरक्षा, अस्पतालभित्रको स्वास्थ्य सेवा, दैनिक प्रहरी(प्रशासन र एअर ट्राफिक कन्ट्रोलजस्ता संवेदनशील क्षेत्रका कामहरूमा कुनै प्रभाव पर्ने छैन।

सामाजिक सुरक्षा र मेडिकेअर नामक ज्येष्ठ नागरिकलाई प्रदान गरिने स्वास्थ्य सेवाका लागि आवश्यक रकम पनि निरन्तर नै विनियोजन हुने छ। तर यसका लागि सेवाग्राहीको प्रमाणीकरण र प्रमाणपत्र वितरणजस्ता कामहरू रोकिन सक्छन्।

सामान्यतया यस्तो अवस्थामा अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालनमै रहे पनि केही कर्मचारीहरूले तलब नपाई काम गर्नुपर्ने हुन सक्छ।

अत्यावश्यक नमानिएका कर्मचारीहरूलाई सरकारले बेतलबी बिदामा राख्ने अभ्यास छ। यसका कारण खाद्यसेवा, पूर्वप्राथमिक विद्यालय, विद्यार्थीलाई कर्जा दिने कार्यक्रम तथा राष्ट्रिय निकुञ्जको सञ्चालनलगायतका काम पूर्ण वा आंशिक रूपमा बन्द हुन सक्छन्।

ट्रम्पको चेतावनी

विगतमा शटडाउनका समयमा बेतलबी बिदामा राखिएका कर्मचारीहरूलाई स्थिति सहज भएपछि उक्त अवधिको तलब समेत दिइएका उदाहरण छन्।

तर यसपालि राष्ट्रपति ट्रम्पले शटडाउनुका कारण धेरै कर्मचारीहरूलाई फिर्ता गर्न नमिल्ने गरी कामबाट हटाइने चेतावनी दिनुभएको छ ।

यस्तो स्थिति आउनुका पछाडि रिपब्लिकनहरू जिम्मेवार रहेको बताउँदै उहाँले शटडाउनका कारण रिपब्लिकनहरूले मन पराएका कतिपय कार्यक्रमहरू समेत बन्द हुने बताउनुभयो।

यस्तो स्थिति कसरी आयो?

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका सांसदहरूले बजेटसम्बन्धी विधेयकलाई एक निरन्तर प्रस्तावका रूपमा कुनै पनि थपघट नगरी पारित गर्न चाहेका थिए।

सिनेटबाट यो विधेयक पारित हुन ६० सदस्य चाहिन्थ्यो तर त्यहाँ ५३ रिपब्लिकन सांसद मात्र छन्। विपक्षी दल अर्थात् डेमोक्र्याटिक पार्टीको सहयोगबिना बिल पारित नहुने अवस्था थियो।

यसैलाई बुझेर स्वास्थ्य सेवालगायतका विषयमा आफ्ना अजेन्डा स्वीकार गर्न सरकारलाई दबाव दिनका लागि उनीहरूले संसदीय अङ्कगणितको प्रयोग गरेको ठानिएको छ।

ट्रम्प सरकारले मेडिकएड, सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) र न्याश्नल इन्स्टिट्यूट अफ हेल्थलगायत स्वास्थ्यसम्बन्धी निकायहरूको बजेटमा कटौती भएको छ, जुन डेमोक्र्याटहरूलाई चित्त बुझेको छैन।

रिपब्लिकन पक्षले विपक्षीका मागको सुनुवाइ गर्न कुनै चासो देखाएको छैन, बरु बजेट पारित नभएर सरकारी कामहरू अवरुद्ध हुँदा त्यसको कारकका रूपमा डेमोक्र्याटहरूमाथि नै जनआक्रोश बढ्ने उसको आकलन छ।

Share Now