काठमाडौं, १८ असोज । देशको खासगरी मध्य तथा पूर्वी भागमा अविरल परिरहेको वर्षा शनिवार बेलुकीबाट थप तेज हुने अनि आइतवार बिहानबाट केही कम भइ सोमवारबाट मात्र मत्थर हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
बङ्गालको खाडीमा विकसित भएको न्यून चापिय मौसम प्रणाली भारतको ओडिसा हुँदै जमिनमा प्रवेश गरेको थियो र त्यसले शुक्रवार रातिदेखि नै काठमाडौं उपत्यकामा सक्रिय रूपमा वर्षा गराइरहेको छ।
शनिवार दिनभरी झरी पर्दा ठाउँठाउँमा सवारी आवागमन अवरुद्ध भएका छन्।
सोमवारबाट मत्थर हुने प्रक्षेपण
विभागका महानिर्देशक कमलराम जोशीले शनिवार बेलुकी ७ ८ बजेदेखि आइतवार बिहान ८ बजेसम्म भारी वर्षाको प्रक्षेपण रहेको बताउनुभएको छ।
“विशेषगरी राति १० बजेदेखि २ बजेसम्म अति भारी वर्षा हुने सम्भावना रहेको छ”, जोशीले भन्नुभयो।
चौबिस घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी पर्यो भने त्यसलाई भारी वर्षा भन्ने गरिन्छ।
सावधानीका निम्ति विशेष ध्यान दिनु पर्ने जिल्लाहरूमा सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, काठमाण्डू, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरू रहेको उहाँले बताउनुभयो ।
“भोलि (आइतवार) बिहानबाट यो प्रणाली विस्तारै पूर्वतिर सरेर जाने सम्भावना भएकोले त्यसपछि पूर्वको तराई र मध्य पहाडी क्षेत्रमा विशेष ध्यान दिनु पर्ने अवस्था छ। सोमवार बिहानदेखि चाहिँ यो प्रणाली मत्थर भएर लगभग लगभग पानी कम पर्ने अनि मनसुनको पनि बहिर्गमन हुने अवस्था छ”, जोशीले बताउनुभयो ।
मन्त्री घिसिङको सक्रियता र सतर्क रहने आग्रह
सडक विभाग, जल तथा मौसम विज्ञान विभाग तथा अन्य सरोकारवाला उच्च अधिकारीहरूको बैठक डाकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात अनि शहरी विकासमन्त्री कुलमान घिसिङले शनिवार मानिसहरूलाई अत्यन्त सतर्क रहन अनुरोध गर्नुभएको छ।
मन्त्रालयमा आयोजित बैठकमा बोल्दै उहाँले सम्बन्धित सरकारी निकायका कर्मचारीहरूलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिनुभयो।
“राति झन् धेरै सतर्कता आवश्यक छ। काठमाण्डूभित्र विशेषगरी नदी छेउछाउ रहने आम जनसमुदायले विशेष सतर्कता अपनाउनु पर्ने देखिन्छ”, घिसिङले भन्नुभयो।
देशैभरी पनि सडक सञ्जाल, सिँचाइ, जलविद्युतमा क्षति पुग्ने सम्भावना भएकाले जोगाउने पहल लिन उहाँले आह्वान गर्नुभयो।
सुरक्षा लगायत सम्बन्धित निकायले तत्काल उद्धारका लागि आवश्यक सामग्री तथा तयारी गर्न भन्दै उहाँले सोमवारपछि तत्काल सडक सञ्जाल पुनर्स्थापना गर्नका निम्ति पनि तयारी गर्न आह्वान गर्नुभएको छ।
उहाँले खासगरी सडक विभागका डिभिजन कार्यालय अनि अन्य सम्बन्धित निकायका कर्मचारीहरूलाई आआफ्ना स्थानमा स्ट्यान्ड बाइ रहन भन्नुभएको छ।
शनिवार उहाँले चोभार गल्छी लगायत काठमाडौंका विभिन्न खोलाका करिडरको अवलोकन गर्नुभएको थियो ।
आवागमन बन्द, दुई दिन राष्ट्रिय बिदा
शनिवार अपरान्ह एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।
“वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, भू-क्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुन सक्ने सम्भावनालाई मध्यनजर गरी”, उक्त बिदाको निर्णय गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “उक्त अवधिभर अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन सबै नागरिकसँग मन्त्रालय हार्दिक अनुरोध समेत गर्दछ।”
यसअघि शनिवार नै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाण्डू उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत असोज १८, १९ र २० गतेसम्मका लागि बन्द गरिएको सूचना जारी गरेको थियो।


















