पाँचथर, १८ असोजःतमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छभने अन्य छ जना गम्भीर घाइते भएका छन् ।
ताप्लेजुङबाट धरानर्फ गइरहेको मे१ज ३०५५ नम्बरको जिप आज दिउँसो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश तामाङले बताउनुभयो ।
सबै घाइतेहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
सुरक्षा निकायको सहयोगमा उद्धार
पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा आज भएको जिप दुर्घटनाका घाइतेको नेपाली सेनाले उद्धार गरेको छ ।
ताप्लेजुङ्गबाट धरानतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेकामा छ जनाका मृत्यु भएको थियो । घाइते भएका छ जनालाई नेपाली सेनाको श्री वीरदल गणबाट खटिएको टोलीले स्थानीय वासिन्दा र अन्य सुरक्षा निकायको सहयोगमा उद्धार गरेको सूचना तथा सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
बोलेरो जीपमा १२ जना यात्रु सवार रहेको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घाइतेमध्ये पाँच जनालाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र एक जनालाई जिल्ला अस्पताल फिदिम लगिएको जनाइएको छ ।
—


















