काठमाडौँ, १९ असोज । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४६ जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन् ।
अविरल वर्षासँगै गएको पहिरोमा परी इलाम जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । आज अपराह्न १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् ।
पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । क्षतिको विस्तृत विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पहिरोमा परी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ, सन्दकपुर गाउँपालिकामा चार, माङ्सेबुङ गाउँपालिकामा तीन, देउमाई नगरपालिकामा आठ, माइजोगमाई गाउँपालिकामा सात र फाकफोकथुम गाउँपालिकामा एक गरी ३४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।
विपद्मा परी सन्दकपुर गाउँपालिकामा दुई तथा इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा एक÷एकजना बेपत्ता भएका छन् ।
यसैगरी बाढीपहिरोमा परी उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ । खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन् । पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् ।
–––


















