लुम्बिनी, १९ असोजः नेपाल एयरलायन्सले अविरल बर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई आज चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउँदै छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्व अन्तरराष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौँ उड्ने तयारीमा छ । “तर निगमका प्रवक्ता सुबास डाँगीले दिनुभएको जानकारी अनुसार दुईवटा जहाज ग्राउन्डेड भएको निगमले भैरहवामा सोमवार एक बजे मात्रै उडान गर्न सकिने अवस्था छ ।
उहाँले भन्नुभयो, “काठमाडौं–भैरहवा–काठमाडौं उडान निगमको न्यारोबडी जहाजले गर्ने छ, काठमाडौंबाट १ बजे जहाज उड्नेछ । ”
यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन् ।
यसैगरी, बेलहिया, बुटवलमा पनि यात्रु रहेका छन् । सडक अवरुद्ध छ । हवाई टिकट पाउन मुस्किल छ ।
“यस किसिमको विषम परिस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलायन्सको चार्टर फ्लाइट उडाउन थालेका हौँ, यसबाट काठमाडौँ जाने यात्रुलाई राहत पुग्ने विश्वास लिएका छौँ ।” प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले भन्नुभयो ।
चार्टर्ड फ्लाइटका लागि सो एयरलायन्सका प्रतिनिधि अरुण पन्थीलाई सम्पर्क गर्न सकिने बताइएको छ । विपद्को समयमा सर्वसाधरण जनतालाई सेवा दिनेगरी नेपाल एयरलायन्सले भैरहवा–काठमाडौँ चार्टर उडान गर्न थालेको हो ।