वाशिङ्गटन डिसी (अमेरिका), ३० असोजः विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा आइपुग्नुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल आइतबार देखि नै विभिन्न भेटघाट तथा छलफलमा ब्यस्त हुनुभएको छ ।
एसियाली विकास बैंकका अध्यक्षबीच भेट
विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएको छ ।
उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।
भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।
जाइकाका उपाध्यक्षबीच भेट
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मङ्गलवार यहाँ भेटवार्ता भएको छ ।
त्यस अवसरमा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोको विषयमा छलफल भएको थियो । भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा जाइकाका अन्य कर्मचारीहरुको समेत सहभागिता थियो ।
विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन यहाँ आउनु भएका मन्त्री खनालले साइडलाइन भेटघाटअन्तर्गत जाइकाका उपाध्यक्षसँग भेटवार्ता गर्नुभएको यहाँ स्थित राजदूतावासले जनाएको छ ।
मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको अवसरमा द्विपक्षीय व्यापार र करका नीतिहरूका बारेमा छलफल भएको थियो । उक्त छलफल उपयोगी भएको यहाँस्थित राजदूतावासले जनाएको छ । उक्त भेटका अवसरमा अमेरिका तथा नेपालका अधिकारीहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी, मङ्गलबार नै मन्त्री खनालले विकासका लागि साउदी फण्डका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग सहकार्य गर्नेसम्बन्धी विषयमा छलफल गर्नुभएको थियो । यस अगाडि उहाँले नेपालको विकासमा साझेदारी गर्दै आएका विभिन्न अन्तरराष्ट्रिय निकायका प्रतिनिधिहरूसँगसमेत छलफल गर्नुभएको थियो ।
भेटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा अन्य कर्मचारीको समेत सहभागिता थियो ।
विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार यहाँ भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित विविध कार्यक्रमको सिंहावलोकन गर्नुका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।
भेटघाटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य, विश्व बैंकको विभिन्न परियोजनाका कर्मचारीकोसमेत सहभागिता थियो ।
विश्वबैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार वासिङ्टन डिसी आइपुग्नुभएको हो ।
अर्थमन्त्री खनाल र कोषका निर्देशकबीच भेट
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तरराष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीच सोमबार यहाँ भेटवार्ता भएको छ । भेटका अवसरमा वित्त तथा आर्थिक विषयमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।
भेटघाटका अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालका भ्रमण दलका सदस्य तथा मुद्रा कोषका अन्य कर्मचारीको समेत सहभागिता थियो । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार डिसी आइपुग्नुभएको हो ।
अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गर्नुभएको छ ।
उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड स् अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका कर्मचारी तथा युएस चेम्बर अफ कमर्सका सदस्यहरुसमेत उपस्थित रहेको थियो ।


















