Prakash Adhikari October 17, 2025
  • अशोक दाहाल
    बीबीसी न्यूज नेपाली

    काठमाडौं, ३१ असोज । आगामी फागुनका लागि तय भएको निर्वाचनमा सहभागिता जनाउने प्रतिबद्धता जनाए पनि नेपाली कांग्रेस र नेकपा एमाले लगायतका राजनीतिक दलहरूले भयरहित वातावरणमा चुनाव हुनेमा आशङ्का व्यक्त गरेका छन्।

    निर्वाचन आयोगले बुधवार बोलाएको सर्वदलीय छलफलमा कांग्रेस र एमालेले ठूलो सङ्ख्यामा कैदीबन्दी जेलबाहिर रहेको र प्रहरीबाट लुटिएका हतियार फिर्ता नभएको अवस्थामा निष्पक्ष निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेको सहभागी नेताहरूले बताएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीलगायतका धेरै नयाँ राजनीतिक दलका प्रतिनिधिहरूले भने निर्वाचन समयमै हुने विश्वास व्यक्त गरेको सहभागीहरूले बताएका छन्।

    विशेष गरी यसअघिको सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेले चुनावी सुरक्षा प्रत्याभूतिका लागि सरकारले दलहरूसँग छलफल नगरेको गुनासो गरेका थिए। नयाँ सरकार बनेको एक महिनासम्म पनि प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग संवाद नगरेको कांग्रेस नेता मीनबहादुर विश्वकर्मा र एमालेका उपाध्यक्ष गुरु बरालले बताउनुभयो।

    “निर्वाचनमा भाग लिने राजनीतिक दलहरू हुन्। त्यसकारण सरकारले दलहरूसँग सहकार्य र अन्तरक्रिया गर्नुपर्‍यो”, विश्वकर्माले भन्नुभयो ।

    एमाले नेता बरालले आयोगले आह्वान गरेको छलफलमा पनि सरकारका प्रतिनिधि नरहेको बताउनुभयो।

    “निर्वाचन आयोगले कुरा गरेर पुग्दैन, सरकार आफैँले दलहरूसँग संवाद गर्नुपर्छ”, उहाँले भन्नुभयो।

    राष्ट्रपति रामचन्द्र पौडेलले गत साता राजनीतिक दलहरूसँग चुनावबारे छलफल गर्नुभएको थियो ।

    चुनावमा भाग लिन सबै दलहरू तयार

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि दलले चुनावमा भाग नलिने कुरा नगरेको बताउनुभयो।

    “निर्वाचनमा नजाने भन्ने कसैको पनि मत रहेन। ‘निर्वाचनको वातावरण बनाउनुहोस्, स्वच्छ प्रतिस्पर्धा गर्न हामी सक्षम छौँ, भाग लिन्छौँ, वातावरण बनाउनुहोस्’  भन्ने नै उहाँहरूको कुरा रह्यो”, उहाँले भन्नुभयो ।

    जारी केन्द्रीय समिति बैठकमा संसद् पुनर्स्थापनाको मत राखिरहेको नेकपा एमालेले आयोगमा भएको छलफलमा भने चुनावमा भाग लिन तयार रहेको बताएको बरालले बताउनुभयो।

    “हामी निर्वाचनमा भाग लिन्छौँ तर निर्वाचन हुनुभन्दा अगाडि स्वतन्त्र, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र धाँधलीरहित हुने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ”, एमाले उपाध्यक्ष बरालले भन्नुभयो।

    कांग्रेस नेता विश्वकर्माले पनि आफ्नो दल चुनावमा भाग लिन तयार रहेको बताउनुभएको थियो ।

    “चुनावका लागि हामी सकारात्मक छौँ, भाग लिन्छौँ र सहयोग पनि गर्छौँ भन्यौँ’, उहाँले भन्नुभयो ।

    दलहरूले चुनावबारे उठाएका दुई प्रश्न

    गत भदौको जेन जी प्रदर्शनमा खोसिएका आफ्ना अत्याधुनिकसहित ८०० हाराहारी हतियारहरू फिर्ता नभएको प्रहरीले बताएको छ। कारागार व्यवस्थापन विभागका अनुसार प्रदर्शनको समयमा जेलबाट भागेका साढे पाँच हजार कैदीबन्दीहरू अझै कारागार फर्किएका छैनन्।

    विशेष गरी ठूला र पुराना राजनीतिक दलहरूले यी दुवै अवस्थाप्रति आयोगको ध्यानाकर्षण गराएका थिए। ूअहिले सुरक्षा अङ्गका धेरै हतियार र गोली बाहिर छन् अनि पाँच हजारभन्दा बढी कैदी बाहिर छन्। यी सबै कुरा नियन्त्रण वा व्यवस्थापन नरेसम्म भयरहित निर्वाचनको वातावरण बन्न सक्दैन,ू एमाले नेता बरालले भन्नुभयो।

    नेपाली कांग्रेसका प्रतिनिधिले सरकार निर्वाचनको वातावरण सहज रूपमा बनाउने पक्षमा चुकेको बताएका थिए।

    “सरकारका गतिविधि र दलहरूप्रतिको दृष्टिकोण हेर्दा चुनाव निष्पक्ष र भयरहित हुने सम्भावना अत्यन्त कम देखिन्छ। सबैभन्दा पहिला लुटिएका हतियार, प्रहरीका बर्दी फिर्ता हुनुपर्‍यो। जेलबाट भागेका कैदीलाई फिर्ता ल्याउनुपर्‍यो”, विश्वकर्मा भन्नुहुन्छ।

    आयोगले देशका स्थानीयदेखि सङ्घीय तहमध्ये निर्वाचित २९ दलका प्रतिनिधिहरूलाई छलफलमा बोलाएको थियो।

    आयोगमा भएको छलफलमा दलहरूले सर्तको रूपमा शान्तिसुरक्षाको कुरा उठाएको निमित्त प्रमुख आयुक्त भण्डारीले बताउनुभयो।

    “निर्वाचनको वातावरण बने, शान्ति सुरक्षाको प्रत्याभूति भए चुनावमा भाग लिने उहाँ(दल)हरूको प्रतिबद्धता रह्‍यो”, भण्डारीले बीबीसीसँग भन्नुभयो, “वातावरण बनाउने, स्रोतको व्यवस्था गर्ने, शान्तिसुरक्षाको प्रत्याभूति गर्ने र एकअर्काले निषेधको राजनीति गर्न नपाउने सुनिश्चितता हामीले पाएकोबारे दलहरूलाई जानकारी गरायौँ।”

    राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले कांग्रेस(एमालेका प्रतिनिधिहरू चुनावी वातावरणप्रति आश्वस्त नदेखिएको बताउनुभयो।

    “अहिलेको परिवर्तनलाई संस्थागत गर्ने चुनावले हो। दलहरूलाई आश्वस्त गर्ने काम चाहिँ सरकार र आयोगले गर्नुपर्‍यो भन्यौँ”, उहाँले भन्नुभयो।

    नयाँ दलका सुझाव के छन्?

    अघिल्लो निर्वाचनमा पहिलो पटक भाग लिएको रास्वपाका महामन्त्री बुर्लाकोटीले चाहिँ आफूले आयोगलाई पूर्णता दिनुपर्ने विषय उठाएको बताउनुभयो।

    निर्वाचन गराउने संवैधानिक निकायमा प्रमुख निर्वाचन आयुक्त र एक जना आयुक्तको पद रिक्त छ।

    रास्वपाले विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलनका लागि नेपाली कूटनीतिक नियोगहरू र विमानस्थलको आगमन र प्रस्थान बिन्दुमा एउटा नामावली दर्ता केन्द्र राख्न सुझाव दिएको उहाँले बताउनुभयो।

    कांग्रेस र एमालेझैँ केही पुराना पार्टीहरूले चुनावको वातावरणबारे संशय व्यक्त गरे तापनि धेरैजसो नयाँ दलहरूले भने त्यसमा स्पष्टतः अग्रसर हुने बताएका छन्।

    विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले आफूलाई वैकल्पिक भनेर चिनाउने नयाँ राजनीतिक शक्तिहरूले चुनावको तयारीलाई स्वागत गरेको बताउनुभयो।

    “वैकल्पिक शक्तिहरू सबैले स्वागत गरे, परम्परागत शक्तिले सुरक्षाको आश्वासन खोजे पनि चुनावको विपक्षमा कसैले कुरा गरेन”, परियारले भन्नुभयो, “थोरै संवैधानिक क्षति भएर फेरि संविधानलाई आफ्नो मार्गमा ल्याउन र नागरिक सरकारलाई दलीय सरकारले प्रतिस्थापन गर्न चाहिने चुनाव नै हो।”

    विश्लेषकका नजरमा दलहरूको मनस्थिति

    राजनीतिक विश्लेषक श्याम श्रेष्ठ चुनावमा भाग लिने विषयबारे दलहरूको मनस्थिति विभाजित देखिएको बताउँछन्।

    “नेपालका दलहरूले आफू जितिन्छ कि जितिँदैन भन्ने कुराको आधारमा चुनावबारे निर्णय गर्ने गरेका छन्”, श्रेष्ठ भन्नुहुन्छ ।

    “तर अहिले देशको स्थिति हेर्ने हो भने निर्वाचनमा नजाने हो भने मुलुक अर्को अँध्यारो सुरुङमा पस्छ।”

    विश्लेषक श्रेष्ठका बुझाइमा कांग्रेस चुनावका लागि तयार नै देखिए पनि एमाले अलमलमा छ। उहाँले पुराना दलहरूमध्ये माओवादी चुनावका लागि सबैभन्दा धेरै उत्साहित देखिएको र रास्वपासहितका नयाँ दलहरू चुनावमा जान तत्पर रहेको बताउनुभयो।

    सरकारले दलहरूसँग प्रभावकारी संवाद नगरेका कारण कतिपयले समयमै चुनाव हुनेमा आशङ्का गर्ने गरेको श्रेष्ठको भनाइ छ।

    “सरकारले दलहरूसँग जुन मात्रामा वार्ता, संवाद गर्नुपर्ने हो, हामी स्थिति तयार गर्छौँ तपाईँहरू आउनूस, भन्नुपर्ने हो त्यति भइरहेको जस्तो लाग्दैन”, उहाँले भन्नुभयो।

Share Now