- ग्रेस एलिजा गुडविन, न्यूयोर्क र केट्लिन विल्सन,वाशिङ्गटन
संयुक्त राज्य अमेरिका, २ कार्तिक(बीबीसी) । अमेरिकामा लाखौँ मानिसले राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिहरूविरुद्ध आयोजना गरिएका ‘नो किङ्ग्स’ भनिएका प्रदर्शनहरूमा सहभागी भएका छन्।
ठूला र साना खालका त्यस्ता प्रदर्शनहरू ट्रम्पको मार आ लागो निवास नजिकैसहित सबै ५० वटा राज्यमा आयोजना भएका थिए।
अमेरिकाभरि ठूलो सङ्ख्यामा विभिन्न शहरहरूमा जम्मा भएका प्रदर्शनकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिहरूको विरोध गरेका छन्।
न्यूयोर्क, वाशिङ्गटन डीसी, सिकागो, मायामी र लस एन्जलससहितका शहरहरूमा जम्मा भएका प्रदर्शनकारीहरूले ‘नो किङ्स’ प्रदर्शन कागजातविहीन आप्रवासीमाथिको दमन, न्याश्नल गार्डका फौजहरूको परिचालन र सङ्घीय रोजगारीको कटौतीजस्ता ट्रम्प प्रशासनका नीतिविरुद्ध भएको उल्लेख गरेका छन्।
यसै वर्षको ज्यानुअरीमा ट्रम्पले सत्ता सम्हालेयता भएको यो तेस्रो यस्तो किसिमको सामूहिक प्रदर्शन हो।
कहाँकहाँ प्रदर्शनहरू भए?
रिपब्लिकन दलका नेताहरूले आन्दोलनकारीहरूलाई ुकम्युनिस्टु र ुमार्क्सवादीु को आरोप लगाएका छन्।
न्यूयोर्कको चर्चित टाइम्स स्क्वायरमा शनिवार बिहान प्रदर्शन सुरु भएको प्रदर्शनमा केही समयमा नै हजारौँ मानिस सहभागी भएका थिए।
त्यहाँका चोक र सब वे प्रवेशद्वारमा ुराजतन्त्र होइन, लोकतन्त्रु र ‘संविधान विकल्प होइन’ जस्ता सन्देश लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूको जमघट थियो।
प्रदर्शनअघि ट्रम्पका साझेदारहरूले आन्दोलनकारीहरूको सम्बन्ध अतिवामपन्थी एनटिफा अभियानसँग भएको बताएका थिए। उनीहरूले ‘अमेरिकामाथि घृणा व्यक्त गर्न आयोजित र्याली’ निन्दा पनि गरेका थिए।
पहेलोँ रङको ज्याकेट लगाएर ‘अवर डेमोक्रेसी इज अन्डर अट्याक’ प्लेकार्ड बोकेकी एक महिला। अमेरिकाको झन्डा र विभिन्न प्लेकार्ड बोकेका आयोजक तथा प्रदर्शनकारीहरूले शनिवारको कार्यक्रम शान्तिपूर्ण भएको बताएका छन्।
नो किङ्ग्स कार्यक्रमहरूको अहिंसा प्रमुख सिद्धान्त भएको उक्त समूहले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। साथै उसले सम्भावित झगडाहरू तत्कालै शान्त पार्न पनि सबै सहभागीहरूलाई अनुरोध गरेको थियो।
न्यूयोर्कमा पृष्ठभूमिमा ड्रमको आवाज बजिरहँदा प्रदर्शनकारीहरूले ुलोकतन्त्र यस्तो हुन्छु भनेर नारा लगाइरहेका थिए। माथि ड्रोन र हेलिकप्टरहरू उडेको देखिन्थ्यो भने प्रहरीहरू छेउछाउमा उभिएका थिए।
न्यूयोर्कको पुलिस डिपार्टमेन्टले १ लाखभन्दा बढीले प्रदर्शनमा सहभागिता जनाएको भन्दै कसैलाई पनि पक्राउ नगरिएको उल्लेख गरेको छ।
सहभागीले कस्ता धारणा राखेका छन् ?
एकजना स्वतन्त्र लेखिका तथा सम्पादक बेथ ज्यासलफले ट्रम्प प्रशासनअन्तर्गत भइरहेका काम ‘फाँसीवाद र अधिनायकवादी सरकारतर्फ उन्मुख’ भएकाले आफू आक्रोशित एवं पीडित महसुस गरेर न्यूयोर्कको प्रदर्शनमा सहभागी भएको बताउनुभयो।
“म न्यूयोर्क शहरप्रति निकै माया राख्छ। अन्य धेरैधेरै मानिसहरूसँग हुँदा त्यसले मलाई आशा दिन्छ”, उहाँले भन्नुभयो।
ज्यानुअरीमा ह्वाइट हाउसमा फर्किएयता ट्रम्पले राष्ट्रपतीय अधिकारको सीमा विस्तार गर्नुभएको छ र आफ्नो कार्यकारी आदेशहरूमार्फत् सङ्घीय सरकारका कतिपय हिंस्सालाई समाप्त पारिदिनुभएको छ।
उहाँले राज्यका गभर्नरहरूको असहमतिका माझ अमेरिकाका विभिन्न शहरहरूमा न्याश्नल गार्डका फौजहरू खटाउनुभएको छ।
उहाँले आफ्नो प्रशासनका प्रमुख कानुन कार्यान्वयन गर्ने निकायका उच्च अधिकारीहरूलाई आफूले शत्रु ठानेका व्यक्तिहरूलाई कारबाही गर्न पनि भन्नुभएको छ।
अमेरिकी राष्ट्रपतिले सङ्कटबाट देशलाई पुनर्निर्माण गर्न आफ्ना कदमहरू आवश्यक रहेको भन्दै आफू तानाशाह वा फाँसीवादी रहेको भन्ने दाबीहरू अतिरञ्जित भएको टिप्पणी गर्नुभएको छ।
तर आलोचकहरू ट्रम्प प्रशासनका कतिपय कदमहरू असंवैधानिक रहेको र त्यो अमेरिकी लोकतन्त्रका लागि खतरा रहेको बताउँछन्।
नो किङ्ग्स प्रदर्शनका नारा
हाल न्यूजर्सीका बासिन्दा रहेका ६८ वर्षका मासिमो मास्कोली एकजना अवकाशप्राप्त इलेक्ट्रोनिक इन्जिनिअर हुनुहुन्छ ।
इटलीमा हुर्किनुभएका उहाँले आफ्नो मातृभूमिले अघिल्लो शताब्दीमा अँगालेको बाटो अमेरिकाले पनि पछ्याउन लागेकोमा चिन्ता लागेर आफू प्रदर्शनमा आएको बताउनुभयो।
मास्कोलीले भन्नुभयो, “मुसोलीनीको सेनाबाट भागेर प्रतिरोध आन्दोलनमा सहभागी भएका एकजना इटालियन नायकको म आफन्त हुँ। उहाँहरुलाई यातना दिएर फाँसीवादीहरूले हत्या गरेका थिए र ८० वर्षपछि म संयुक्त राज्य अमेरिकामा फेरि फाँसीवाद देख्न चाहन्नँ।”
मास्कोलीले कठोर आप्रवासन र लाखौँ अमेरिकीहरूको स्वास्थ्य सेवा कटौतीमा पर्न सक्ने ट्रम्प प्रशासनको नीतिबाट आफू चिन्तित रहेको बताउनुभयो।
“हामी सर्वोच्च अदालतमा भर पर्न सक्दैनौँ। हामी सरकारलाई भरोसा गर्न सक्दैनौँ,ू उहाँले बीबीसीसँग भन्नुभयो। ूहामी कङ्ग्रेसलाई भरोसा गर्न सक्दैनौँ। अहिले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबै अमेरिकी जनताको विपक्षमा छन्। त्यही भएर हामी लडिरहेका छौँ।”
सिनेटका अल्पसङ्ख्यक नेता तथा न्यूयोर्कका डेमोक्र्याट नेता चक सुमर पनि प्रदर्शनमा सहभागी हुनुहुन्थ्यो ।
“अमेरिकामा कोही पनि तानाशाह छैन र हामी ट्रम्पलाई हाम्रो लोकतन्त्रलाई कमजोर पारिरहन दिने छैनौँ”,’स्वास्थ्य सेवा सङ्कट सम्बोधन गर’ भन्दै माग गरिएको सङ्केतसहितको प्लेकार्ड बोकेको आफ्नो तस्वीरसहित सुमरले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ।
वाशिङ्गटन डीसीमा, भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले प्रमुख मन्तव्य दिनुभएको छ।
“हामी यहाँ अमेरिकाप्रति घृणा लिएर आएका होइनौँ। हामी यहाँ अमेरिकाप्रतिको माया लिएर आएका हौँ”, हजारौँको भिडलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ।
अमेरिकाबाहिर पनि प्रदर्शन
नो किङ्स प्रदर्शनप्रति एक्यबद्धता जनाउन लण्डनस्थित अमेरिकी राजदूतावासबाहिर भेला भएका मानिसहरू। महिला र पुरुहरूको उक्त समूहले ट्रम्पको विरोधमा विभिन्न प्रकारका नारा लेखिएका प्लेकार्ड बोकेर बसेको र उभिएको थियो ।
अमेरिकाबाहिर पनि यस्ता प्रदर्शनहरू भएका छन्। बर्लिन्, म्याडरिड र रोममा मानिसहरूले प्रदर्शनमा सहभागी अमेरिकीहरूप्रति ऐक्यबद्धता जनाएका छन्।
लन्डनमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरू अमेरिकी राजदूतावासबाहिर जम्मा भएका थिए भने टोरन्टोमा अमेरिकी वाणिज्यदूतावास नजिकै भएका प्रदर्शनमा ‘क्यानडालाई नछुनू’भन्ने सन्देश बोकेका प्लेकार्ड सहभागीहरूले ल्याएका थिए।
आइतवार प्रसारण हुने फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश शनिवार सार्वजनिक गरिएको छ जसमा राष्ट्रपति ट्रम्पले भावी र्यालीहरूलाई सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ।
“राजा ! यो कुनै नाटक होइन”, अन्तर्वार्तालाई प्रवर्द्धन गर्न सार्वजनिक गरिएको क्लिपमा ट्रम्पले भन्नुभएको छ, “तपाईँलाई थाहा छ-उनीहरूले मलाई राजा भनेर सम्बोधन गरिरहेका छन्। म राजा होइन।”
कन्सासका सिनेट रोजर मार्शललेले भन्नुभयो, “हामीले न्याश्नल गार्डहरूलाई बाहिर ल्याउनुपर्ने हुन्छ। आशा छ, यो शान्तिपूर्ण हुने छ। तर मलाई शङ्का छ।”
प्रदर्शनअघि कैयौँ अमेरिकी राज्यका रिपब्लिकन गभर्नरहरूले न्याश्नल गार्डलाई परिचालनका लागि तयार अवस्थामा राखेका थिए।
टेक्ससका गभर्नर ग्रेग एबटले बिहीवार न्याश्नल गार्डलाई सक्रिय तुल्याउँदै अस्टिनमा योजना गरिएको एन्टिफासँग सम्बन्धित प्रदर्शनलाई लक्षित गर्दै त्यो आवश्यक भएको बताउनुभएको थियो।
डेमोक्रयाट नेताहरूले शसस्त्र सैनिकहरूलाई शान्तिपूर्ण प्रदर्शनहरू दबाउन सेना पठाइएको भन्दै त्यसको निन्दा गरेका थिए। डेमोक्रयाट नेता जीनी वुले भन्नुभयो, “त्यस्तो काम राजा र तानाशाहहरूले गर्छन् र ग्रेग अबटले आफू त्यसमध्ये एक भएको भर्खरै पुष्टि गरेका छन्।”
के लोकप्रियता खस्किएको हो?
ट्रम्पको अनुरोधमा राजधानी वाशिङ्गटन डीसीमा अगस्टदेखि नै न्याश्नल गार्ड परिचालित गरिएको छ। त्यहाँ प्रदर्शन भइरहेका ठाउँमा सैनिकहरू नदेखिएपनि स्थानीय प्रहरीहरू खटिएका थिए।
राजधानीमा आयोजित र्यालीमा एक व्यक्तिले एउटा प्लेकार्ड बोकेका थिए जसमा ‘म एन्टिफा हुँ’ लेखिएको थियो।
सतसट्ठी वर्षका चक इप्स त्यो भारी शब्द भएको ठान्नुहुन्छ। उहाँले आफूले शान्ति, बल हेरचाह, जीवनयापन गर्न सक्ने ज्याला, स्वास्थ्य सेवा र आप्रवासी र विभिन्न वर्णका मानिसहरूप्रति समर्थन व्यक्त गर्न त्यसो गरेको बताउनुभयो।
“उहाँले सबैलाई मनोवैज्ञानिक रूपमा भ्रममा पार्न खोजिरहनुभएको छ वा प्रयास गरिरहनुभएको छ। तर त्यसले काम गरिरहेको छैन्।”
डोनल्ड ट्रम्पलाई लिएर अमेरिकीहरू गहिरो गरी विभाजित छन्। रोएटर्सरइपसोसको एउटा सर्वेक्षणले राष्ट्रपतिको रूपमा उनका कामहरूको जम्मा ४० प्रति अमेरिकीहरूले अनुमोदन गरेको र ५८ प्रतिशतले अनुमोदन नगरेको उल्लेख गरेको छ।
यो उहाँको पहिलो कार्यकालको औसत एप्रुभल रेटिङसँग करिब बराबर भए पनि दोस्रो कार्यकालको सुरुवातमा ज्यानुअरीमा रहेको ४७ प्रतिशत अनुमोदन दरभन्दा कम हो।
आफ्नो कार्यकाल अघि बढ्दै जाँदा राष्ट्रपतिहरूको लोकप्रियता कम हुँदै जानुलाई सामान्य मानिन्छ।
रोएटर्सरइपसोसका अनुसार ज्यानुअरी २०२१ मा जो बाइडनको एप्रुभल रेटिङ ५५ प्रतिशत थियो। तर त्यही वर्षको अक्टोबरसम्म आइपुग्दा, त्यो घटेर ४६ प्रतिशत कायम भएको थियो।


















