Prakash Adhikari October 21, 2025

 

वाशिड.टन(संयुक्त राज्य अमेरिका) । संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाले रेअर अर्थ भनिने दुर्लभ खनिज आपूर्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

संवेदनशील खनिजमा चीनको एकाधिकारलाई चुनौती दिने विकल्प खोजिरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अस्ट्रेलियाबाट आपूर्ति बढाउने उद्देश्यले नयाँ सम्झौता गरेका हुन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले आफ्नो देशको उत्खनन र प्रशोधन क्षमता बढाउन सघाउ पुर्‍याउने ८.५ अर्ब अमेरिकी डलर लागतको पाइपलाइन निर्माणमा सहयोग गर्ने विषय पनि सम्झौतामा समेटिएको बताउनुभएको छ।

सम्झौताको खाकामा दुवै देशले अमेरिका र अस्ट्रेलियाका परियोजनाहरूमा आगामी छ महिनाभित्र १ अर्ब अमेरिकी डलर लगानी गर्ने उल्लेख छ।

ट्रम्पको पहिलो कार्यकालबाटै अमेरिका र अस्ट्रेलियाले रेअर अर्थको उत्खनन र प्रशोधनमा सहकार्य गरिरहेका छन्। अल्बनीजीले पछिल्लो सम्झौताले साझेदारीलाई उच्च तहमा पुर्‍याउने बताएका छन्।

पनडुब्बीको चर्चा

अस्ट्रेलियाले अमेरिका र यूकेसँग गरेको ओकस पनडुब्बी सम्झौताको पनि अमेरिकी राष्ट्रपति ट्रम्पले प्रशंसा गरेका छन्।

यसै वर्षको सुरुमा ट्रम्पले अमेरिका पहिलो नीति अन्तर्गत मेल खाने गरी उक्त सम्झौताका विस्तृत पक्षहरूलाई पुनरवलोकन गर्ने बताएपछि यो सहमति चर्चामा आएको थियो। त्यस बेला आफ्नो पुरानो भइसकेको जलसेनाका पनडुब्बीहरू अमेरिकाबाट खरिद गरेर उसले प्रतिस्थापन गर्न नसक्ने हो कि भन्ने आशङ्का समेत व्यक्त गरेका थिए।

ट्रम्पलाई अस्ट्रेलियाले पनडुब्बी प्राप्त गर्ने या नगर्नेबारे पनि सोधिएको थियो। होइन, उनीहरूले पाउने छन्”, उहाँले जबाफमा भन्नुभएको थियो।

हाल चीनले ७० प्रतिशत पृथ्वीका दुर्लभ खनिजहरू र ९० प्रतिशत प्रशोधित सामग्रीहरूमाथि नियन्त्रण कायम गरेको छ। यस्ता खनिजहरू रक्षा सामग्रीदेखि कम्प्युटर चिप्स र कारमा प्रयोग गर्ने गरिन्छन्।

अमेरिकाले प्रतिवर्ष १०० टन उत्पादनमा लगानी गर्ने

अमेरिकी कम्पनीहरू यस्ता सामग्रीमा निकै परनिर्भर छन्। अमेरिकी कर वृद्धि र अन्य तनावहरूका कारण यसै वर्ष चीनले आपूर्तिलाई नियन्त्रण गर्न कदमहरू चालेपछि उनीहरूको चिन्ता थपिएको थियो।

मङ्गलवारको घोषणापछि अस्ट्रेलियाको रेअर अर्थ माइनिङ कम्पनीहरूको शेअर मूल्यमा वृद्धि भएको थियो।

पर्थमा अवस्थित आर्फुरा रेअर अर्थको शेअर मूल्य ७.७ प्रतिशतले बढेको थियो भने अर्को प्रमुख उत्पादक इलुका रिसोर्सेजको मूल्य ३ प्रतिशतले वृद्धि भएको थियो।

प्रधानमन्त्री अल्बनीजीले तीन प्रकारका परियोजनाहरूमा लगानीलाई तीव्रता दिने उद्देश्य उक्त सम्झौताले राखेको र त्यसमा अस्ट्रेलियाका प्रशोधन केन्द्रहरूमा अमेरिकी लगानीको विषय पनि समेटिएको बताउनुभयो।

दुई देशहरूले मूल्य निर्धारण, स्वीकृति, कम्पनीहरूको बिक्रीका लागि सरकारी सर्तसम्बन्धी नियम र परियोजनाजस्ता विषयमा पनि मिलेर काम गर्ने सहमति गरेका छन्।

अमेरिकाले प्रतिवर्ष १०० टन उत्पादन गर्ने क्षमता भएको अत्याधुनिक ग्यालिअम रिफाइनरीका लागि आफूले लगानी गर्ने घोषणा पनि गरेको छ।

साथै उसले संवेदनशील खनिजसम्बन्धी परियोजनाहरू अघि बढाउन आफ्नो एक्सपोर्ट-इम्पोर्ट ब्याङ्कमार्फत् २.२ अर्ब अमेरिकी डलर लगानी गर्ने तयारी अघि बढाइएको पनि उल्लेख गरेको छ।

Share Now