टोकियो (जापान), ४ कार्तिक । जापानको संसदले मंगलबार कट्टर रूढिवादी सानाए ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको छ। राजनीति र कार्यस्थलमा वृद्ध पुरुषहरूको प्रभुत्व रहेको जापानजस्तो पितृसत्तात्मक देशका लागि यो एक ऐतिहासिक क्षण हो।
आर्थिक समस्या र विभाजित राजनीतिले ग्रस्त जापानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्धारित भ्रमणको केही दिनअघि नै ताकाइचीले यो जिम्मेवारी सम्हाल्नुभएको हो। तर, उहाँका गहिरो रूढिवादी विचारहरूले पार्टीका केही मध्यमार्गी सदस्यहरूलाई चिन्तित बनाएको छ।
उदाहरणका लागि, उहाँ जापानको शान्तिवादी संविधान संशोधनको समर्थन गर्नुहुन्छ प्रायः विवादास्पद युद्ध स्मारकमा जानुहुन्छन जसमा दोस्रो विश्वयुद्धका युद्ध अपराधीहरूको नाम समावेश छ। उहाँ समलिङ्गी विवाह र विवाहित जोडीहरूलाई फरक थर प्रयोग गर्न दिने बढ्दो अभियानको विपक्षमा पनि छिन्।
चीनप्रतिको उनको कठोर अडानले जापानको क्षेत्रीय सम्बन्धहरूलाई जटिल बनाउन सक्छ। स्वदेशमा भने उच्च मुद्रास्फीति र जीवनयापनको लागतसँग जुधिरहेको बेला ठूलो खर्च गर्ने र कर कटौती गर्ने उहाँको आर्थिक प्रस्तावबारे केही मानिस चिन्तित छन्।
ताकाइची अक्टोबरको सुरुमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेता चुनिनुभएको थियो। उहाँको विजयले विवादले ग्रसित एलडीपीको राजनीतिक झुकावलाई थप दक्षिणपन्थी बनाएको सङ्केत गर्छ।
संसद्का दुवै सदनबाट प्रधानमन्त्रीमा निर्वाचित भए पनि अब उहाँले १२ करोड जापानी जनताको अपेक्षालाई सम्बोधन गर्नुपर्नेछ। वस्तुहरूको उच्च मूल्य नियन्त्रण गर्नु उहाँको पहिलो चुनौती हुनेछ। जापानको मुख्य खाना चामलको मूल्य गत वर्षको तुलनामा दोब्बर भएको छ। जापानको घट्दो जन्मदर, खुम्चँदो कार्यशक्ति र बढ्दो वृद्ध जनसंख्याको निरन्तर समस्या पनि उहाँका लागि महत्त्वपूर्ण चुनौती हुन्।
तेस्रो प्रयासमा पार्टी नेता र प्रधानमन्त्री
सन् १९६१ मा नारा प्रिफेक्चरमा जन्मेकी ताकाइचीका बुबा कार्यालय सहयोगी र आमा प्रहरी अधिकृत हुनुहुन्थ्यो। उहाँको बाल्यकाल राजनीतिभन्दा धेरै टाढा थियो।उहाँ एक समयमा हेभी मेटल ड्रमरका रूपमा परिचित हुनुहुन्थ्यो र तीव्र ड्रमिङका क्रममा स्टिकहरू भाँच्ने भएकाले धेरै स्टिक बोक्ने गर्दा उहाँ प्रसिद्ध हुनुहुन्थ्यो ।
उहाँको राजनीतिक प्रेरणा सन् १९८० को दशकमा अमेरिका जापान व्यापार द्वन्द्व चरमोत्कर्षमा पुगेका बेला आयो। उहाँले सन् १९९६ मा एलडीपी बाट संसदीय सिट जित्नुभएको थियो ।
त्यसबेलादेखि उहाँ एकपटक मात्र पराजित हुँदै १० पटक सांसदको रूपमा निर्वाचित हुनुभयो र पार्टीको सबैभन्दा मुखर रूढिवादी आवाजको रूपमा ख्याति कमाउनुभयो। दुई असफल प्रयासपछि उहाँ एलडीपी को नेता चुनिनुभयो, जसले उहाँको प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त गर्यो।


















