Prakash Adhikari October 21, 2025

 

काठमाडौ, ४ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज सात राजनीतिक दलका नेताहरुसँग छलफल गर्दैछिन् ।

छलफल आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको भदौ २७ गते संविधान बाहिरबाट राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठन गर्नुभएको थियो। सोही दिन शपथ ग्रहणपश्चात् पदबहाली पनि नहुँदै राष्ट्रपतिका सामु प्रतिनिधि सभा विघटनको सिफारिस गर्दै प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते आम निर्वाचन गराउने सिफारिस गर्नुभएको थियो । सो सिफारिस बमोजिम राष्ट्रपति पौडेलले तत्काली प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको मिति तोक्नुभएको हो ।

प्रतिनिधि सभामा रहेका नेपाली कांग्रेस र नेकपा एमाल जस्ता ठूला दलहरुले सरकारको गठन र प्रतिनिधि सभाको विघटन दुवै असंवैधानिक रहेको ठहर गरेका छन् । सरकारले पूर्वाग्रह राखेर जेनजी आन्दोलनका समयमा सरकारका रहेका कांग्रेस र एमालेका जिम्मेवार पदाधिकारीमाथि छानविन गर्न लागेको, चुनाव घोषणा भएपछि सम्पत्ति शुद्धीकरणको अनुसन्धान थालिएको र यो सरकारलाई संविधान बाहिरबाट निर्देशन गनै जेनजीका अगुवा नेताहरुले अकुत सम्पत्तिको दायरामा परेका नेताहरुलाई निर्वाचन लड्न नदिने खुला उद्घोष गरेको तथा भदौ २४ गतेको विध्वंशमा संलग्न अपराधीलाई पक्राउ नगरिएको, भागेका कैदीहरु फिर्ता नल्याएको र प्रहरीहरुसंग लुटिएका हतियारहरु फिर्ता नल्याएकोले निश्पक्ष निर्वाचन हुन नसक्ने दावी गरिरहेका छन् ।

आम नागरिकलाई निर्वाचन हुन्छ भन्ने सन्देश दिन राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्की र मन्त्रीहरुको समेत उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरुसंग पनि निर्वाचन बारे छलफल गर्नुभएको थियो । त्यसले पनि कुनै सकारात्मक सन्देश दिन सकेन ।

राष्ट्रपतिले आन्दोलनकारी जेनजीका अगुवाहरु र प्रधानमन्त्रीसहित मन्त्रीहरुसंग पनि निर्वाचनका बारेमा छलफल गर्नुभयो, त्यसले पनि कुनै सन्देश दिन सकिरहेको छैन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित अवस्थामा रहेको र निर्वाचनबारे कुनै ठोस निर्णय नगरिसकेको हुनाले पार्टीका तर्फबाट कसले प्रतिनिधित्व गर्ने र के विषय राख्ने भन्ने निक्र्यौल गरिसकेको छैन ।

Share Now