भीमदत्तनगर(कञ्चनपुर), ४ कार्तिक ।दुईबर्ष पहिले इजरायलबाट हमासको अपहरणमा परेर मारिनुभएका विपिन जोशीको शवयात्रा सुरु भएको छ । भीमदत्त नगरपालिकाबाट केहीबेर अघि शवयात्रा सुरु भएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् ।
उहाँको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा गरिने तय भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिन लागेको जानकारी दिनुभयो । उहाँकाअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ ।
सुदुरपश्चिम विश्वविद्यालयबाट लर्निड. बाई अनिड. कार्यक्रम अन्तरगत अध्ययनको सिलसिलामा इजरायल पुग्नुभएका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइनुभएको थियो ।
त्यसपछि उहाँको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उहाँको मृत्यु पुष्टि गरेका थिए ।
इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो ।
काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा विपिनको शव धनगढीमा ल्याएपछि विमानस्थलमा सलामी अर्पण गरेर परिवारलाई बुझाएको थियो ।
विपिनको शव ल्याइएपछि नेपालका लागि इजरायली राजदूतसहितका तीन जना इजरायली प्रतिनिधिको टोलीले विपिन जोशीको घरमै पुगेर परिवारलाई सहानुभूति समेत दिनुभएको थियो ।


















