Prakash Adhikari October 25, 2025

काठमाडौं,८ कार्तिक । नेपाल दृष्टिविहीन क्रिकेट टोलीले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकपको पहिलो संस्करणको पहिलो खेलमा श्रीलंकालाई चुनौती प्रस्तुत गर्ने भएको छ।

दृष्टिविहीन क्रिकेटको इतिहासमै पहिलोपटक महिला विश्वकप आयोजना हुन लागेको हो। प्रतियोगिता सन् २०२५ नोभेम्बर ११ देखि २३ सम्म भारत र श्रीलंकाका विभिन्न सहरमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इङ्ल्यान्ड सहभागी हुनेछन्

नेपाल र श्रीलंकाको पहिलो खेल नोभेम्बर १२ मा नयाँ दिल्लीस्थित कर्नेल सिंह स्टेडियममा हुने नेपाल दृष्टिविहीन क्रिकेट संघले जनाएको छ। त्यसपछि नेपालले नोभेम्बर १४ मा भारतविरुद्ध बेंगलुरुमा दोस्रो खेल खेल्नेछ।

नेपाली टोलीले नोभेम्बर १५ मा इङ्ल्यान्ड र नोभेम्बर १६ मा अमेरिकासँग प्रतिस्पर्धा गर्दै भारतमा हुने खेल सकाउने छ। त्यसपछि टोली श्रीलंका पुगेर नोभेम्बर १८ मा अस्ट्रेलिया र नोभेम्बर १९ मा पाकिस्तानसँग खेल्नेछ।

प्रतियोगिताको फाइनल खेल नोभेम्बर २३ मा कोलम्बोमा हुने तय गरिएको छ, यद्यपि अन्तिम खेल मैदान भने अझै निश्चित छैन।

Share Now