Prakash Adhikari October 25, 2025

मैलुड.(रसुवा), ८ कार्तिक । निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको सुरुङमार्ग निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

कुल १० किलोमिटर लामो मूख्य सुरुङमार्ग खन्ने काम लगभग सम्पन्न हुने चरणमा पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार, सुरुङमार्ग भेदन(ब्रेक थ्रु) अक्टुबर २५ अर्थात कार्तिक ८ गते शनिबार हुने कार्यतालिका तय भएको विकासकर्ता नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ ।

सो जलविद्यूत् परियोजनाका् हालसम्म ७० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्न भने अझै एक वर्ष लाग्ने जनाइएको छ ।

आयोजना आगामी सन् २०२६ को डिसेम्बर(२०८३ पुस)मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

आयोजनाको विद्युतगृह र बाँधमा उपकरण जडानको काम सुरु हुन लागेको छ। बाँधको गेट जडानका साथै सुरुङमा कंक्रिटलाइन मुख्य काम बाँकी छ।

आयोजना निर्माणमा ६४ करोड ७३ लाख अमेरिकी डलर अर्थात ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमध्ये ४५ करोड ३२ लाख अमेरिकी डलर करिव ५२ अर्ब रुपैयाँ विदेशी बैंकबाट ऋण लगानी छ।

Share Now