Prakash Adhikari October 26, 2025

काठमाडौं, ८ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेताहरूले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ।

एमाले केन्द्रीय सदस्य तथा निवर्तमान मन्त्री भगवती न्यौपाने, पोलिटब्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू पार्वती रावल, अइन्द्रसुन्दर नेम्वाङ, गोविन्द थापा र एमाले शिक्षा विभाग सदस्य डा सुन्दरी पोखरेलले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरी उक्त प्रदर्शनमा संलग्नमध्ये हालसम्म पक्राउ परेका र हालसम्म मुद्दा दायर गरिएकाको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको हो।

लुटेका हातहतियार र गोलीगठ्ठा कति सङ्ख्यामा बरामद गरिन्छन्, सोको विवरणसहित सरकारी तथा निजी घरमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने नेताहरूले माग गर्नुभएको छ। विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनमा अशान्ति फैलाउने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड तथा आगजनी गर्ने विभिन्न व्यक्तिलाई पक्राउ गरिएको तथा निजहरूविरुद्ध मुद्दा चलाइएको बारे सम्पूर्ण विवरण दैनिक सार्वजनिक गर्नुहोस्।’

Share Now