Prakash Adhikari October 31, 2025

सानेपा(ललितपुर), १४ कार्तिक । नेपाली कांग्रेसको चालु केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशनसम्बन्धमा आफूले बनाएको कार्यतालिका पेश गर्न पाउनु पर्ने नभए केन्द्रीय कार्य समितिको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएपछि कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आइतवार दिउँसो १ बजे बैठक बस्ने गरी आजको बैठक स्थगित गर्नुभएको हो ।

कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने बहस भइरहेको छ। यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल भइरहे पनि संस्थागत निर्णय भएको छैन ।

कांग्रेस महामन्त्री थापाले तुरुन्तै महाधिवेशन हुनुपर्ने भन्दै अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर अभियान चलाइरहनुभएको छ ।

हस्ताक्षरकारीहरुद्धारा आइतवार विशेष भेला आह्वान

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा विशेष महाधिवेशन माग गरेर बुझाइएको हस्ताक्षर केन्द्रीय समितिको एजेन्डा नबनेपछि आइतवारका लागि विशेष भेला आह्वान गरिएको छ । विशेष महाधिवेशन माग गरेर हस्ताक्षर गरेकाहरूले आइतबार विशेष भेला बोलाएका हुन् ।

आइतबार साढे १२ बजे नयाँ वानेश्वरस्थित आनन्द इभेन्ट्समा हस्ताक्षर गरेकाहरूको भेला बोलाइएको हस्ताक्षर अभियानका अगुवा मनोजमणि आचार्यले जानकारी दिनुभएको छ। ‘सल्लाह गर्नका लागि हस्ताक्षर गर्नेहरूको भेला बोलाएका छौँ,’ आचार्यले भन्नुभयो ‘हामीले हस्ताक्षर बुझाएको लामो समयसम्म पनि केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा नबनेपछि दबाब दिन र कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन भेला बोलाएका हौँ ।’

कांग्रेस युवा नेता नेता गुरुराज घिमिरेको नेतृत्वमा २९ असोजमा २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित तुरुन्त विशेष महाधिवेशन आह्वान गर्ने मागसहितको निवेदन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । त्यो जानकारी कार्यवाहक सभापति खड्काले केन्द्रीय समितिको बैठकमा गराए पनि एजेन्डाका रूपमा प्रवेश गराउनुभएको छैन ।

एजेन्डाको रूपमा आफूहरूको विशेष महाधिवेशन माग सहितको हस्ताक्षर केन्द्रीय समितिमा प्रवेश नगरेपछि दबाबका लागि अभियानले भेला बोलाएको हो ।

Share Now