काठमाडौं, १६ कार्तिक । साताको पहिलो दिन आइतबार नेपालको शेयर बजारमा सन्तोषजक बढोत्तरी देखिएको छ । यस दिन धितोपत्र बजार परिसूचक ३०.७५ अंक बढेर २६३१.१४ विन्दुमा पुगेको छ।
यस दिन शेयर कारोबारमा खरिद बिक्रीको आयतनले पनि साथ दिएको छ। अर्थात यस दिन धितोपत्र बजार परिसूचक मात्र बढेन कारोबार रकम पनि बढेको छ। गत बिहीबार ७ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय १९ स्टकको २ करोड ९७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्रीबाट ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, पिपुल्स पावर, तेह्रथुम पावर र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, यस दिन उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशत बढेको छ। त्यसपछि बढनेमा दोर्दी र क्रेष्ट माइक्रो रहेका छन् ।
यस दिन बढेको बजारमा पनि शेयर मूल्य अधिक घट्ने कम्पनीहरुमा खानी खोला हाइड्रोपावर, एनआईसी फ्लेक्सी क्याप, प्रभुबैक लिमिटेड डिबेञ्चर ८६, हिमालयन पावर पार्टनर, सांग्रिला बैंक लिमिटेड डिबेञ्जर ८७, नेपाल माइक्रो इन्स्योरेन्स, ग्लोबल आईएमई, आशा लघुवित्त, आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स रहेका छन् । ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १ अर्ब ६६ करोड ५० लाख रुपैयाँबराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन यूनियन हाइड्रोपावरको करिब साढे ३४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ। त्यसबाहेक यस दिन राँधी जलविद्युत कम्पनीको २४ करोड ५० लाख रुपैया, एनआरएन इन्फ्राको २० करोड ५१ लाख, सिनर्जी पावरको २० करोड १७ लाख रुपैयाको, नेपाल पुनर्बीमा कम्पनीको १९ करोड ७५ लाख, न्यादी ग्रुप पावरको १९ करोड ३५ लाख रुपैयाको, हिमालयन रिइन्स्योरेन्सको १७ करोड ९६ लाख रुपैयाको र हिमालयन डिष्टिलरीको १६ करोड ८५ लाख रुपैयाको कारोबार भएको छ ।
यस दिन नेपालको धितोपत्र बजारमा सूचीकृत भई बर्गीकृत भएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन १.१० प्रतिशत घटेको छ।


















