- फणीन्द्र दाहाल
बीबीसी न्यूज नेपाली
काठमाडौं, २३ कार्तिक । अक्सफर्ड भ्याक्सिन ग्रुपका निर्देशक प्राध्यापक सर एन्ड्रयु पोलार्डले पाराटाइफोइडविरुद्ध आफूहरूले ब्रिटेनमा गरेको खोपको एउटा अध्ययन प्रभावकारी भएको भन्दै त्यसले नेपाल र दक्षिण एशियाका अन्य देशहरूलाई फाइदा पुर्याउन सक्ने बताउनुभएको छ।
अक्सफर्ड भ्याक्सिन ग्रुपले यूकेका विभिन्न ६ ठाउँमा गरेको उक्त अध्ययनमा ुमुखबाट सेवन गराइने खोपु को दुई मात्रा सहभागीहरूलाई दिइएको थियो।
मानव नियन्त्रित अनुसन्धान विधिअन्तर्गत उनीहरूलाई खोप दिएर टाइफोइड ज्वरो निम्त्याउने सालमोनेला पाराटाइफी ए किटाणुबाट सङ्क्रमित गराइएको थियो।
अध्ययनका क्रममा उक्त खोप ७३ प्रतिशत प्रभावकारी रहेको पाइएको भन्दै हालसम्म कुनै खोप नरहेको उक्त प्रकारको घातक स्वास्थ्य समस्याको निदानमा पछिल्लो अध्ययन कोशेढुङ्गा सावित हुने विश्वास वैज्ञानिकहरूले गरेका छन्।
सालमोनेला टाइफी र सालमोनेला पाराटाइफीका कारण बर्षेनी १ लाखभन्दा बढीको ज्यान जाने गरेको अध्ययनहरूमा उल्लेख गरिएको छ। र प्रत्येक वर्ष त्यसले ८० लाख जतिलाई अपाङ्गतातर्फ धकेल्ने बताइएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाराटाइफोइड दक्षिण एशिया र दक्षिण पूर्वी एशियामा ५ देखि ९ वर्षका बालबालिकाहरूमा प्रमुख समस्याको रूपमा देखिने गरेको छ।
अहिलेको अध्ययनलाई पहिलो महत्त्वपूर्ण उपलब्धि मानेका अनुसन्धानकर्ताहरूले खोपको व्यावसायिक विकासपछि मात्र वास्तविक परिणामहरू देख्न सकिने उल्लेख गरेका छन्।
अक्सफर्ड भ्याक्सिन ग्रुपसँग वर्षौदेखि नेपालमा साझेदारी गरिरहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको बाल स्वास्थ्य अनुसन्धान विभागकी प्रमुखले पाराटाइफोइड सङ्क्रमण वृद्धि भएको भन्दै खोपको विकास भए त्यसले ठूलो फाइदा पुर्याउने बताउनुभएको छ।
यो कस्तो खोप हो?
अनुसन्धानकर्ताहरूले १८ देखि ५५ वर्षका ७२ जना स्वयंसेवीहरूमा यूकेका विभिन्न ६ ठाउँमा ुकन्ट्रोल्ड ट्रायलु अर्थात् खोप र किटाणु दुवै दिएर नियन्त्रित परीक्षण गरिएको उल्लेख गरेका छन्।
अक्सफर्ड भ्याक्सिन ग्रुपका निर्देशक पोलार्ड भन्नुहुन्छ, “दक्षिण एशियाको यो क्षेत्रमा टाइफोइड जस्तो देखिने रोगहरूमध्ये १० देखि ३० प्रतिशत पाराटाइफोइड हुने गर्छ र यसले बालबालिकालाई असर गर्छ। यसको खोप छैन। त्यही भएर अक्सफर्डमा हामीले टाइफोइड र पाराटाइफोइड दुवैमा सुरक्षा दिने खोप विकास गर्न काम गरिरहेका छौँ।”
उहाँले थप्नुभयो, “हामीले अक्सफर्डका वयस्कहरूलाई सुरुमा खोप दियौँ र त्यसपछि उनीहरूलाई जानीजानी पाराटाइफोइडबाट सङक्रमित बनायौँ। त्यसका लागि उनीहरूलाई हामीले यहाँ काठमाण्डूमा देखा पर्ने जस्तो खालको टाइफोइड सङ्क्रमित भएको पानी पिउन दियौँ। हामीले पहिलो खोपबाट ७० प्रतिशत सुरक्षा रहेको पायौँ। त्यो भनेको ठूलो प्रभाव हो।”
न्यू इन्ङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित उक्त अध्ययनका वरिष्ठ सहलेखक एवं अक्सफर्ड भ्याक्सिन ग्रुपका मेडिकल स्टाटिस्टिक्स एवं इपिडिमिओलोजीका प्राध्यापक सीनसीओ लिओले यो बाहेक अन्य दुई खोपबारे पनि अनुसन्धान भइरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “अहिले हामीले जुन नियन्त्रित अध्ययन गर्यौँ त्यसले ज्यादै सकारात्मक परिणाम दिएको छ। यसले केही आशा दिएको छ। अहिले हामीले प्रकाशन गरेको अनुसन्धान भनेको सेवन गर्न मिल्ने खालको खोपको प्रभावकारिता बारेको हो। यसबाहेक अन्य दुई सुइबाट दिन मिल्ने खोपहरूका बारेमा पनि परीक्षण चलिरहेको छ। एउटाको नतिजा अर्को वर्षको अन्त्यसम्म आउने ठानिएको छ। अर्कोको परिणाम सन् २०२७ को अन्त्यसम्म आउन सक्छ।”
उहाँका अनुसार अक्सफर्डको अध्ययनमा समावेश गरिएको उक्त खोप सीभीडी १९०२ युनिभर्सिटी अफ मेरिल्याण्डको सेन्टर फर भ्याक्सिन डिभल्पमेन्टले विकास गरेको हो।
टाइफोइड एउटा सरुवा रोग हो।
टाइफोइडका जीवाणु भएको बिरामीको दिसा, पिसाबबाट दूषित भएको पिउने पानी तथा खानाबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ।
निरन्तर ज्वरो आउनु, जीउ तथा टाउको दुख्नु, कहिलेकाहीँ शरीर कम्पन हुने तथा ज्वरो बढ्दै गएर बरबराउने तथा बेहोस हुने जस्ता लक्षण टाइफोइड लागेका बिरामीमा देखिने स्वास्थ्यकर्मीहरू बताउँछन्।
पाराटाइफोइड टाइफोइडभन्दा केही कम घातक र यसको सङ्क्रमण अवधि पनि केही कम हुने यूकेको हेल्थ एन्ड सेक्युरिटी एजेन्सीले उल्लेख गरेको छ।
अक्सफर्ड भ्याक्सिन ग्रुप र पाटन अस्पतालबीचको सहकार्य
अक्सफर्ड भ्याक्सिन ग्रुप र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच बाल स्वास्थ्य अनुसन्धानमा सहकार्य हुँदै आएको दुई दशक पूरा भएको छ र दुई निकायले १० वर्ष यता टाइफोइडसम्बन्धी खोपको प्रभावकारिताबारेको अध्ययनमा पनि सहकार्य गरिरहेका छन्।
उक्त सहकार्य अन्तर्गत सन् २०१७ देखि २०२१ सम्म ललितपुरमा २० हजार बालबालिकालाई टाइफोइड कन्जुगेट खोप (टीसीभी) दिइएको थियो। त्यो बेला परीक्षणका लागि लाइसेन्स प्राप्त गरेपछि मलावी, बाङ्ग्लादेश र नेपाल तीन देशमा उक्त खोपको प्रभावकारिताबारे अध्ययन भएको थियो।
उक्त अध्ययनले १८ महिनापछि टीसीभी ८२ प्रतिशतमा प्रभावकारी रहेको पाइएको थियो। नेपालले त्यसयता उक्त खोपलाई बालबालिकालाई दिने खोप कार्यक्रममा अनिवार्य गरेको छ र पाकिस्तान, मलावी, जिम्बावे, लाइबेरिया, केन्या, समोआ, बुर्किना फासो र बाङ्ग्लादेशले पनि उक्त खोप प्रयोगमा ल्याएका छन्।
प्राध्यापक पोलार्डले टाइफोइड विरूद्धको खोपले नेपालको अध्ययनले दिएको तथ्याङ्कलाई विश्व स्वास्थ्य सङ्गठनले समेत प्रयोगमा ल्याएको उल्लेख गर्दै भने, “हामीले अहिले यो खोपको प्रयोग संसारका विभिन्न ठाउँमा भइरहेको देखिरहेका छौँ। यो वर्षको अन्त्यसम्म १२ करोड बालबालिकाहरू सुरक्षित भएका छन् र त्यसको ठूलो कारण चिकित्सकहरूले नेपालमा गरेको काम हो।”
नेपाललाई फाइदा
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी बाल स्वास्थ्य अनुसन्धान विभागकी प्रमुख प्राध्यापक डाक्टर सृजना श्रेष्ठले नेपालमा गरिएको अध्ययनले खोप प्रभावकारी र सुरक्षित रहेको देखाएपछि सबैभन्दा सुरुमा पाकिस्तानले यसलाई नियमित खोप कार्यक्रममा समावेश गरेको बताउनुभयो।
सन् २०२२ को एप्रिलमा उक्त टीसीभी खोप आफ्नो राष्ट्रिय कार्यक्रममा समावेश गर्ने देश नेपाल बनेको थियो। उक्त अभियान अन्तर्गत १५ महिनादेखि १४ वर्षसम्मका ७७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य अधिकारीहरूले राखेका थिए।
प्राध्यापक श्रेष्ठले टाइफोइडको खोप दिएपछि पाराटाइफोडका सङ्क्रमित बढ्न थालेको उल्लेख गर्दै त्यही भएर पनि खोप चाहिएको उल्लेख गर्नुभयो।
उहाँ थप्नुहुन्छ, “अन्त पनि यस्तो हुन सक्छ भनेर पहिला पनि देखिएको हो। हाम्रो तथ्याङ्कले पनि यही देखाइरहेको छ। पहिला १५(२० प्रतिशत जति हुन्थ्यो। हामीले निगरानी गरिरहेका छौँ र अहिले भर्ना हुने बच्चाहरूमा यो २० प्रतिशतभन्दा बढ्न थालिरहेको छ। कुनै सालमा ५० प्रतिशत पनि पुग्न थालेको छ।”
उहाँले भन्नुभयो, “यो बढ्न सक्छ भन्ने चिन्ता पनि छ, अहिले जुन परीक्षणहरू भएका छन्, यसका परिणामहरू आएपछि यसले केही सहज हुन्छ होला।”
प्राध्यापक श्रेष्ठले टाइफोइडको खोप लिएका बालबालिकालाई बूस्टर डोज दिने विषयमा पनि आफूहरूले अक्सफर्ड भ्याक्सिन ग्रुपसँग मिलेर अध्ययन गर्न लागेको जानकारी दिनुभयो।
नेपालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको बाल स्वास्थ्य अनुसन्धान विभाग र यूकेको अक्सफर्ड भ्याक्सिन ग्रुपबीच सन् २००५ मा सुरु भएको सहकार्य अन्तर्गतका अनुसन्धानहरू खोपबाट रोक्न सकिने रोगहरूमा केन्द्रित परियोजनाहरूमा केन्द्रित छन्।
दुई निकायले टाइफोइडबाहेक निमोनिया र मेनिन्जाइटिस रोगका भारहरू बुझ्न र प्नुमोकोकल, टाइफोइड र हिब खोपसम्बन्धी विभिन्न अध्ययनहरू गरेका छन्।
प्राध्यापक श्रेष्ठले अहिलेसम्मको सहकार्यबाट आफूहरूले विश्वव्यापी खोप नीतिहरूलाई प्रभावित तुल्याउन सकेको भन्दै त्यसले दुवै पक्षलाई फाइदा पुगेको र अक्सफर्डजस्तो प्रतिष्ठित विश्वविद्यालयसँग मिलेर वैज्ञानिक अनुसन्धानमा सहभागी हुने अवसर पाएको बताउनुभयो ।


















