Prakash Adhikari November 30, 2025

काठमाडौं, १४ मंसिर । साताको पहिलो कारोबार दिन नेपालको शेयर बजार ओरालो लागेको छ । बितेको साताका पाँचै कारोबार दिन बढेर बन्द भएको नेप्सेमा यो साताको पहिलो कारोबार दिनमै करेक्सन भयो।

गत साता नेप्से परिसूचक ११५.७२ अंक बढेको थियो। बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो। यस दिन नेप्से परिसूचक २६.५१ अंक घटेर २६४९.५२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.६७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंक घटेको छ।

धितोपत्र बजार परिसूचक घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ६ अर्ब ६६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४२ स्टकको १ करोड ५७ लाख ३६ हजार कित्ता शेयर खरिदबिक्रीबाट ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, निफ्रा । ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन ८.५ प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७ को मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को मूल्य सर्वाधिक ८.९९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ५ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब २२ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ग्रीन भेन्चर्सको कारोबार रकम २१ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

Share Now