Prakash Adhikari December 31, 2025
काठमाडौँ, १७ पुसः सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा इस्वीको नयाँ सम्वत्  २०२६ को सुमधुर गीत र संगीतको धुनमा नाच्दै गाउँदै स्वागत गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा सन् २०२५ को अन्तिम दिन डिसेम्बर ३१ अर्थात पौष १६ गते साँझ ‘न्यू इयर इभ’ आयोजना गरी इस्वीको नयाँ सम्वत्  २०२६ को स्वागत गरिएको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेलको अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो ।
उहाँले नेपाल घुम्न आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल आउने उल्लेख गर्नुभयो । वडाध्यक्ष तिवारीले ठमेल क्षेत्रका उद्योगी तथा व्यवसायीले आचारसंहितामा रहेर व्यापार–व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।
ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य डा रामशरण थपलियाले ठमेल क्षेत्रको पर्यटन उद्योगलाई बचाउन ठमेल क्षेत्रका व्यवसायीको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले ठमेल भित्रिने पर्यटक बढ्नुपर्नेमा घट्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।
ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमलाई ‘अपग्रेड’ गर्नुपर्ने बताउनुभयो ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले ठमेललाई चलायमान बनाउन घरधनी तथा व्यवसायी मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
यसैबीच, अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आज दिउँसो त्रिदेवी मार्ग ठमेलमा सडक महोत्सव आयोजना गरिएको थियो ।
Share Now