Prakash Adhikari January 1, 2026

काठमाडौ, १७ पुसः  सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुल विश्वकर्माले जितेका छन्। राहुल लगातार दोस्रो पटक च्याम्पियन भएका हुन्।

प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै राहुल उपाधि जितेका हुन्। उनको यो करियरको तेस्रो उपाधि हो।

यसअघि गत सिजन सेन्ट्रल ओपन र सूर्य नेपाल प्रिमियरको उपाधि जितेका थिए। उनले ४-अन्डर ६८ को स्कोरमा समग्रमा १४-अन्डर २ सय ७४ को प्रभावशाली स्कोर दर्ज गरे।

प्रतियोगिताको अन्तिम १८ होलको सुरूवात गर्दा राहुलसँग ५ स्ट्रोकको अग्रता रहेको थियो। जयरामले केहि दबाब दिने संभावना रहेको थियो। जुन हुन सकेन्। बिना दबाब राहुलले फर्न्ट नाइन ३-अन्डर ३३ मा सकाउँदा ८ स्ट्रोकको सानदार अग्रतामा उपाधि जित्ने लगभग निश्चित भैसकेको थियो।

उनले दोस्रो, तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं होलमा बोगी खेपे। यसपछि १२ औं र १५ औं होलमा पनि एक-एक सट बचाए। १७ औं होलमा बोगी प्रहार गरे।

ब्याक नाइन १-अन्डर ३५ खेले। यो सँगै १४ स्ट्रोकको नतिजमा प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि उचाले। उनले पहिलो दिन ६-अन्डर, दोस्रो दिन ५-अन्डर र तेस्रो दिन १-ओभरको प्रदर्शन गरेका थिए।

जयरामले आज ५-ओभर ७७ को खराब स्कोर गर्दा समग्रमा इभन-पार २ सय ८८ सहित दोस्रो स्थान प्राप्त गरे। पहिलो र दोस्रो होलमा लगातार बर्डी प्रहार गर्दै सुरूवात राम्रो गरे। तर तेस्रो र सातौं होलमा एक-एक सट खेर फाले। फ्रन्ट नाइन इभन-पार ३६ खेले। ब्याक नाइनमा निराशाजनक प्रदर्शन गर्न पुगे।

कुल ५ होलमा बोगी खेप्दा ब्याक नाइन ५-ओभर ४१ मा सकाए। तोरण र भुवनलाई २ स्ट्रोकले पछि पार्दै दोस्रो भए। प्रोतर्फ पहिलो भएका उनले १ लाख ७० हजार पुरस्कार प्राप्त गरे।

समग्रमा २-ओभर २ सय ९० को स्कोरमा तोरण विक्रम शाही र भुवन नगरकोटीले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे। तोरणले इभन-पार ७२ र भुवनले ४-अन्डर ६८ मा चौथो दिनको खेल सकाए। उनीहरूले १ लाख १२ हजार ५ सय नगद पुरस्कार हात पारे।

तोरणले फ्रन्ट र ब्याक नाइन दुवै इभन-पार ३६ मा सकाए। फ्रन्ट नाइनमा उनले सबै होलमा पार बचाए। ब्याक नाइनमा १० औं, १२ औं र १४ औं होलमा बर्डी प्रहार गर्दा ३-अन्डरको स्कोरमा पुगिसकेका थिए। उनले जयरामलाई कडा चुनौती समेत दिए। तर ५-पारको १५ औं होलमा डबल बोगीको समान गरे भने १८ औं होलमा पनि बोगी प्रहार गरे।

भुवनले फ्रन्ट र ब्याक दुवै नाइन २-अन्डर ३४ मा सकाए। उनले पहिलो, तेस्रो, चौथो होलमा बर्डी र आठौं होलमा एक सट खेर फाले। यसपछि १६ देखि १८ होलमा लगातार तीन बर्डी प्रहार गरे भने चौधौं होलमा बोगी खेपे।

नेपाल नम्बर एक प्रो धरानका निरज तामाङले समग्रमा ३-ओभर २ सय ९१ को स्कोरमा पाँचौं स्थान हात पारे। उनले आज ३-अन्डर ६९ मा खेल सकाए। पाँचौं भएका निरजले ८२ हजार नगद पुरस्कार प्राप्त गरे।

समग्रमा ४-ओभर २ सय ९२ को स्कोरमा भुवनकुमार रोक्का, शुक्रबहादुर राई, दिनेश प्रजापति र एमेच्योर रूबेन थापा संयुक्तरुपमा छैटौं भए। भुवनले ४-ओभर ७४ खेल्दा शुक्र र दिनेशले २-ओभर ७४ मा खेल पुरा गरे। उनीहरूले ६४ हजार ३ सय ३३ नगद पुरस्कार प्राप्त गरे। एमेच्योर रूबेनले २-अन्डर ७० स्कोर गरे। रुबेन एमेच्योरतर्फ दोस्रो भए।

७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २५ एमेच्योर गरी कुल ६२ खेलाडीको सहभागिता रहेको थियो। जहाँ १८ प्रो गल्फरले कुल १० लाख ५० हजार रुपैयाँ हात पारे।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गरे।

Share Now