Prakash Adhikari January 5, 2026

काठमाडौं, २२ पौष। आईसीसी टी २० विश्वकप ट्रफी टुरअन्तर्गत नेपाल ल्याइएको ट्रफी आज पोखरा लगिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ट्रफी आज बिहान पोखरामा फोटोसुट र स्थानीय आउटरिच कार्यक्रम हुनेछ ।

त्यसपछि आजै काठमाडौं फिर्ता ल्याएर वसन्तपुरमा प्रदर्शनीमा राखिनेछ भने बुधबार बौद्धमा पनि प्रदर्शन हुनेछ ।

त्यस्तै भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी सोमवार शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, पुरुष टिमका कप्तान रोहित पौडेल, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रूपमा अनावरण गर्नुभएको थियो ।

पुरुष तथा महिला क्रिकेट टिमका कप्तान, प्रशिक्षक तथा क्यानका पदाधिकारी समेतको उपस्थितिमा ट्रफी अनावरण गरिएको थियो ।

नेपालमा आईसीसी टी २० ट्रफी टुर भोलि जनवरी ७ सम्म आयोजना हुनेछ । टुरका क्रममा क्रिकेटप्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन् ।

नेपालमा यसअघि सन् २०१८ मा एक दिवसीय अन्र्राष्ट्रिय क्रिकेट विश्वकपको ट्रफी पनि ल्याइएको थियो । त्यतिबेला पनि काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो । टी २० विश्वकपको ट्रफी ल्याइएको भने यो पहिलोपटक हो ।

डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टुर जारी छ ।

आईसीसी टी २० विश्वकप आगामी फेब्रुअरी ८ देखि मार्च ७ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ । यो विश्वकपमा पनि नेपाल छनोट भएको छ ।

प्रतियोगितामा २० टोली सहभागी हुनेछन्। भारत र श्रीलंकाका ८ मैदानमा २९ दिनसम्म यो प्रतियोगिता चल्नेछ।

नेपाल समूह ‘सी’मा परेको छ। नेपालको समूहमा समान दुईपल्टको च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र बंगलादेश छन्।

Share Now