Prakash Adhikari January 21, 2026

काठमाडौं, ७ माघ । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्सेमा यस दिन करेक्सन भएको हो।

पछिल्ला ४ कारोबार दिनमा नेप्से परिसूचक करिब ८० अंक बढेको थियो। बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन नेप्सेमा करेक्सन भएको हो। नेप्से परिसूचक यस दिन ९.४३ अंक घटेर २७०५.३८ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११ अर्ब ८५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको  २ करोड १६ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्रीबाट  ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर यस दिन ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ५.८९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ३६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ३३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.२६ प्रतिशत बढेको हो। यस दिन वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Share Now