मुस्ताङ, १४ माघः मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ ।
सशस्त्र प्रहरी कार्यालयका अनुसार भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताउनुभयो ।
त्यसैगरी, सिमकोटस्थित रासस समाचारदाताका अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् ।
यसैबीच, बाजुरस्थित राससकर्मीका अनुसार जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ ।
हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले राससलाई बताउनुभयो ।
बैतडी र बागलुङमा बाक्लो हिमपात,
बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो ।
हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।
यसैगरी, ढोरपाटनबाट रासस प्रतिनिधिले जनाएअनुसार ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् ।
हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । हिमपातसँगै हिउँदे बाली सप्रने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन् ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध
मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् ।
लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले राससलाई जानकारी दिनुभयो । निरन्तर हिमपात भइरहेकाले तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून छ ।
काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका प्रहरी निरीक्षक मानन्धरले जानकारी दिनुभयो ।
हिमपात र वर्षा हुने
—








